सङ्घीयतालाई बलियो बनाउन आवश्यक कानूनको निर्माणमा ढिलाइ गर्न हुँदैन: राष्ट्रपति पौडेल

जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले जनताको ठूलो बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई मजबुद बनाउन आवश्यक पर्ने कानूनको निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले उहाँको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले आज जनकपुरधामको नव निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै निजामती ऐन तथा प्रहरी ऐन चाँडो ल्याउनका लागि दलका शीर्ष नेताहरूसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले नेपालको राजकीय सत्तामा सबै नेपालीको समान सहभागिताले मात्र मुलुक स्थिरता तथा समृद्धिको बाटोमा जाने प्रति आफू विश्वस्त रहेकाले त्यसका लागि सधैँ आफूले पहिला देखि नै मधेश आन्दोलनको क्रममा मधेशी जनताको मागको सम्बोधन गराउने काम गरेको स्मरण गराउनु भयो ।
उहाँले मधेशको अन्न उत्पादन तथा पहाडको पानीको उचित प्रयोगले मुलुकलाई चाँडै समृद्धिको मार्गमा लान सक्ने भएकाले नै सुनकोशी- कमला मरिन डाइभर्सनको कुरा आफू कृषिमन्त्री भएकै बेलामा योजना बढाएको र अहिले कार्यान्वयनको चरणमा गएकाले खुशी व्यक्त गर्नु भयो ।
राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने पद भएकाले आफूले सबै धर्म, संस्कृति तथा परम्पराप्रति उत्तिकै सम्मान गरेर पदको गरिमा बढाउने प्रयास गरेको बताउनु भयो ।
नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सङ्घीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताउनु भयो ।
उहाँले प्रहरी तथा निजामती विनाको प्रदेशको कल्पना गर्न नसकिने बताउँदै मधेश प्रदेशको विकासको अवरोधक नै यी दुई विधेयक पारित नहुनु रहेको दाबी गर्नु भयो।
 नागरिक अभिनन्दन पत्र वाचन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा मधेशका शुभचिन्तक राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधामबासीको तर्फबाट नागरिक अभिनन्दन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.