कालिज फार्ममा पसेको चितुवालाई नियन्त्रणमा लिएर छाडियो, ६८ वटा कालिज मारेकोमा साढे दुईलाख क्षति

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित हरियाली ग्रुपले सुरु गरेको कालिजपालन फार्ममा पसेको चितुवालाई नियन्त्रणमा लिएर छाडिएको छ । बिहीबार बिहानपख कालिज फार्मभित्र पसेको चितुवालाई शुक्रबार राती ११ बजे मात्रै नियन्त्रण लिइएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन सौरहाबाट आएको प्राविधिकहरुको टोलीले फार्मभित्र पसेको चितुवालाई जिवितै नियन्त्रणमा लिई सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक डाक्टर अमिर सडौलाको नेतृत्वको टोलीले चितुवा नियन्त्रणमा लिइएको थियो ।
डा. सडौलासहित वन्यजन्तु प्राविधिक दिपप्रसाद चौधरी, भेटेरिनरी प्राविधिक किरणराज रिजाल र जुनियर वन्यजन्तु प्राविधिक सुरेन्द्र चौधरीको टोलीले डार्टगनको सहायतामा लठ्याउने सुई (सिरिन्ज) प्रहार गरी चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको उक्त बयस्क पोथी चितुवाको लम्बाई १ सय ८४ सेन्टिमिटर, उचाई ५२ सेमी, तौल ३५ केजी र उमेर ३ वर्षको रहेको उहाँले बताउनुभयो ।
चितुवालाई नियन्त्रणमा लिनका लागि वन कार्यालयका निमित्त प्रमुख खनालसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुम, वन कार्यालय तथा फार्मका कर्मचारी, तातोपानी प्रहरीचौकीको टोली र स्थानीयवासीले सहयोग गरेका थिए । उक्त चितुवालाई गण्डकी प्रदेशभित्र पर्ने सामुदायिक वन क्षेत्रको प्राकृतिक बासस्थानमा लगेर छाडिएको भए पनि कुन जिल्लाको सामुदायिक वनमा चितुवा छाडियो भन्ने विषयमा डिभिजन वन कार्यालयले खुलाएको छैन ।
आहाराको खोजीमा निस्किएको चितुवा हरियाली ग्रुपले पालेको कालिजको फार्ममाथि लगाइएको जाली छेडेर फार्मभित्र पसेको जनाइएको छ । ४ सय ५० वटा कालिजहरु पालिएको फार्ममा पसेको चितुवाले ६८ वटा कालिज मारेको ग्रुपका प्रवन्ध÷निर्देशक शेरबहादुर केसीले बताउनुभयो । मारेकामध्ये थोरै कालिज खाएको चितुवाको आक्रमणबाट कालिजपालन फार्मलाई साढे दुईलाख रुपैयाँ क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
हरियाली ग्रुपले सुरु गरेको व्यावसायिक कालिजपालन फार्ममा रिङनेक प्रजातिका कालिजहरु पालिएको छ । शुक्रबार बिहान साढे ६ बजे कालिजको फार्ममा दानापानी दिन गएकी फार्ममा कार्यरत कर्मचारी मनिसा थापालाई चितुवाले एक्कासी झम्टन खोजेपछि फार्मभित्र चितुवा पसेको थाहा भएको थियो । त्यसपछि सम्बन्धित निकायमा खबर गरी चितुवा नियन्त्रणको प्रयास थालिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्