यस्ता छन् कोप २८ मा नेपालले उठाउने एजेण्डा
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोगभन्दा पनि अधिकारको दावी
काठमाडौं – जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन अर्थात कोप २८ यही मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्समा आयोजना हुँदैछ ।
सम्मेलनको दिन नजिकिदै गर्दा जलबायु परिवर्तनमा योगदान कम तर हानी बढी खेपिरहेको नेपालले आफ्नो तर्फबाट उठाउने एजेण्डालाई अन्तिम रुप दिएको छ ।
कोप २८ सम्मेलनमा पेश गरिने एजेण्डा संकलनका लागि बन तथा वातावरण मन्त्रालयले यही मंसिर ५ गते राष्ट्रिय जलवायु सम्मेलनको आयोजना गरेको थियो ।
उक्त सम्मेलनबाट कोप २८ मा नेपालले खासगरी जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीता लगायत मुद्दालाई उच्च महत्वका उठाउनु पर्ने सुझाब आएका छन्।
विशेषगरी राष्ट्रिय अनुकूलन योजनाको विस्तृतरुप, कार्वन उत्सर्जनको न्यूनिकरणमा नेपालको योगदान र कोप–२८ को एजेण्डाका बारेमा छलफल गरी एजेण्डाहरु तयार पारिएको बन तथा वातावरण मन्त्रालयले बताएको छ ।
त्यसो त गत मंसिर २ गते सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनु भएको छ ।
जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋण केन्द्रित भएकाले यसलाई बदल्दै अनुकूलन, उत्थानशीलता एवं हानि तथा नोक्सानी अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदान जलवायु न्यायका रूपमा पाउनु पर्ने सुनिश्चितताको लागि आफुले पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
विशेषगरी सम्मेलनमा नेपाल कार्बन उत्सर्जनमा न्यून योगदान तर ज्यादा प्रभाव बेहोर्न बाध्य मुलुक रहेकाले जलवायु वित्त सहयोग सहज र न्यायोचित पहुँचमा जोड दिने बताइएको छ । नेपालले कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा थोरै मात्र हिस्सा ओगट्ने गरेको भएपनि जलवायु परिवर्तनको असरको हिस्सा निकै बोझिलो र पेचिलो छ ।
त्यसो त संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत कोप २८ मा नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
गत कार्तिकमा भएको नेपाल भ्रमणको अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।
गुटेरेसले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका बढी रहेको तर पर्वतीय मुलुकहरुले समस्या भोग्नु परेको भन्दै यस विषयमा गंभिर बन्न र विश्व तापमान बढन नदिन सगरमाथाको आधार शिविरबाट विश्व समुदायलाई आग्रह गर्नु भएको थियो ।
बन तथा बातावरण मन्त्रालयका अनुसार कोप–२८ सम्मेलनमा नेपालको पेभेलियनसमेत रहने भएको छ । पहिलो पटक नेपालको आफ्नै पेभेलियन रहने र उक्त पेभेलियनमा दुई दर्जन बढी क्षेत्र र जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानिनोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरणका विषयबारे प्रस्तुति हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्