मनकामना केबुलकार सञ्चालनको २५ बर्ष : डिजिटल प्रविधिमा रुपान्तरण गर्ने नयाँ योजना
गोरखा- मनकामना केबलकार २६ औँ बर्षमा प्रवेश गरेको छ ।
गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा जाने दर्शनार्थीहरुको सहजताका लागि सञ्चालनमा ल्याएको केबलकार २५ बर्ष पुरा गरी शुक्रबार २६ औँ बर्षमा प्रवेश गरेको हो ।
प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले वि.स.२०५३ सालमा कम्पनी स्थापना गरी २०५४ साल माघको अन्तिम साताबाट केबलकार निर्माणको कार्य सुरु गरेका थिए ।
निर्माण थालेको १० महिनापछि वि.स. २०५५ साल मङ्सिर ८ गतेदेखि व्यवसायिक रुपमा देशकै पहिलो मनकामना केबुरकार सञ्चालनमा आएको हो ।
सुरुमा बार्षिक २-३ लाख यात्रुहरुलाई सेवा दिँदै आएको केबलकारले हाल बार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ ।
यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको चितवनको इच्छाकामना ४ चेरेस स्थित बटम स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक राजेशबाबु श्रेष्ठले बताउनुभयो ।
केबलकार सञ्चालन पश्चात प्रसिद्ध धार्मिकस्थल मनकामनाका साथै आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य बनेको र यस क्षेत्र भारत लगायत विश्वरभरमा महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित भएको सञ्चालक श्रेष्ठको भनाइ छ ।
उहाँका अनुसार यहाँ आउने पर्यटक मध्ये २५ प्रतिशतको हाराहारीमा भारतीय पर्यटक रहने गरेका छन् । मनकामना दर्शन प्रालिले मनकामना आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गलाई सहयोग गर्दै आएको पनि बताउनुभयो ।
विनाशकारी गोरखा भूकम्पपछि पश्चिम गोरखाका ७-८ स्थानीय तहलाई कम्पनीले राहत उपलब्ध गराएको थियो ।
सामाजिक व्यवसायिक उत्तरदायित्व नीति अनुसार कम्पनीले केवलकार टिकट आम्दानीको कुल रकमको १-१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम गोरखाको शहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई वर्षेनी सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
सञ्चालक श्रेष्ठले एक वर्षमा २ करोड हाराहारीमा आयकर तिर्दै आएको बताउनुभयो । केबलकारबाट गत आर्थिक वर्षसम्ममा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ राजस्वमा योगदान गरेको छ । पर्यटनतर्फ सबैभन्दा बढी कर तिरेवापत आन्तरिक राजस्व विभागले मनकामना केबलकारलाई बिहीबार सम्मानित गरेको थियो ।
यसैबीच, मनकामना केबलकारलाई पूर्ण डिजिटल प्रविधिमा स्तरोन्नती गरिने भएको छ । २५ बर्ष पुगिसकेको हालको एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्प्रेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै यस प्रविधिलाई हालकै नविनतम डिजिटल प्रविधिमा स्तारोन्नती गर्ने भएको हो ।
हाल पहिलो चरणको काम सन् २०२१ मा सम्पन्न भइसकेको र बाँकी काम आगामी वर्षको भदौ-असोज महिना सम्ममा सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो ।
स्तरोन्नति गर्न रु. ४५ करोड लगानी हुने उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार अबको चरणमा कन्ट्रोल सिस्टम, कम्यूनिकेशन केबलका साथै केबलकारको लठ्ठा फेरिने छ ।
यसैबीच, मनकामना केबलकारको हाता भित्र सुविधा सम्पन्न रिर्सोट सञ्चालन गरिने भएको छ ।
हाल निर्माण कार्य भइरहेको ४० कोठाको रिर्सोटमा स्वीमिङ पुल, हेल्थ क्बल, सभाहल, र रेष्टुरेन्ट रहने श्रेष्ठले बताउनुभयो ।
मनकामना दर्शन प्रालिबाट सञ्चालन हुने यस रिर्सोटका लागि ५५ करोड रुपैयाँ लागने अनुमान छ ।
सन् २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिसोर्ट सञ्चालनमा आउने छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले मन्दिर क्षेत्र सरसफाइ, रक्तदान कार्यक्रम, सांगितिक कार्यक्रम गर्नुका साथै आज १०० जना यात्रुलाई नि:शुल्क केबुलकार चढ्ने व्यवस्था मिलाएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्