पाल्पाका केही खोला जसले लिन्छन् अकालमै ज्यान !

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।

हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र अन्य समय खोलाको तस्बिर खिच्चेहरु लडेर ज्यान गुमाउने गरेका छन् । भूतखोला पर्यटकका लागि आकर्षण स्थल भएपनि त्यसको उचित सुरक्षा प्रवन्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ ।

उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी जाने र उनीहरुले नै अकालमा ज्यान गुमाउने गरेका छन् । यहाँ गत हप्ता मात्र घुम्न आएका दुई जनाको अकालमै ज्यान गएको छ । भारत र रुपन्देहीबाट घुम्न आएका दुई जनाको खोलामा डुबेर मृत्यु भएको हो ।

भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु भएको छ । गत मंगलबार साढे एक बजेको समयमा भारतको उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रविनको पाल्पाको तिनाउ गाउँपालिका–३ तिनाउ खोला स्थित ड्याममा डुबेर मृत्यु भएको हो ।

विद्यालयबाट शिक्षकसहित २०-२५ जनाको संख्यामा घुम्न आएकी प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिन गई खोलामा डुबेकी थिइन् । उनको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भूतखोलमा डुबेर मृत्यु भएको छ । गत मंगलबार विहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए ।

खोलामा डुबेका उनलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । आचार्यसँग सोही ठाउँकी २६ वर्षीया युना दाहाल पनि गएकी थिइन् । उनी पनि अचानक खोलामा डुब्न पुगेकी थिइन् ।

भूतखोलामा रहेको सानो झरना र निलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् । यहाँको भूतखोला, ड्याम र तिनाउ खोलामा मात्र धेरैले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.