अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन आवश्यक छः उपराष्ट्रपति

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवालहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बत्तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले सम्पूर्ण अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले नेपाल सरकारलगायत विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाहले गर्दै आएको पैरवीहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । “उहाँहरूलाई अर्काको भर नपर्ने गरी जीवनयापन गर्ने सीप र दक्षता प्रदान गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउन पनि आवश्यक छ, किनभने उहाँहरूको सीप, सेवा र क्षमता राज्यको दिगो विकासमा उत्तिकै महत्वपूर्ण छ, अपाङ्गता भएका व्यक्तिमैत्री भौतिक संरचना निर्माण र कानूनको पालना सबैले गर्नु पर्दछ”, सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकार सम्पन्न बनाउँदै उहाँहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउन जरुरी भएको बताउँदै उपराष्ट्रपतिले अपाङ्गता भएकाहरूका लागि संवैधानिक व्यवस्थाअनुरुप सामाजिक सुरक्षा, सशक्तीकरण, सहभागिता र समावेशिताका अधिकारलाई अक्षरशः पालना गर्ने दायित्व सबैको भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.