देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ: अध्यक्ष ओली

गण्डकी- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।
 पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गर्दै प्रतिपक्षमा रहँदा पनि सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन-८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताउनुभयो । उहाँले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएका दावी गर्नु भयो ।
“देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, सङ्गठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ”, उहाँले भन्नुभयो, “पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको हो ।”
अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राख्नुभयो । “देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैँले बनाउने हो, अरूले कसैले बनाइदिएर देश बन्दैन”, अध्यक्ष ओलीले भन्नुभयो, “देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.