सीमा सुरक्षाबारे सशस्त्रले सुझाव माग्दै

काठमाडौ- सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ ।

सशस्त्र प्रहरी बल नेपालले सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग सङ्गठनको वृत्तिविकासका लागि मार्गदर्शकसमेत हुने बताउनुभयो । सुझाव सङ्कलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम केसी सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकाले त्यसैअनुरुप लाग्नुपर्ने सुझाव दिनुभएको छ । शुक्रबारबाट सुरु उक्त सुझाव लिन कार्यक्रम आगामी दिनमा पनि जारी राख्ने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सङ्गठनको उद्देश्य हासिल गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्वपूर्ण हुने भएकाले सङ्गठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको उहाँहरुको भनाइ थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षकहरुले पनि सीमा सुरक्षा र सङ्गठनको बृहत्तर हितका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सो अवसरमा सीमा सुरक्षा, मानवस्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु क्रमशः नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा वंशीराज दाहाललगायतको सहभागिता थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.