७० लाखको कृषि अनुदानका लागि करिब ६ सयको निवेदन
पश्चिम नवलपरासी- सोझै किसानले अनुदान पाउने भएपछि कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीमा कृषि उपकरणका लागी करिब ६ सय किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने गरिएकोमा यस वर्ष देखि सोझै किसानले निवेदन दिन पाउने भएपछि ज्ञानकेन्द्रमा निवेदनको ओईरो लागेको हो । ज्ञानकेन्द्रले सिचाँई सहित कृषि विकास कार्यक्रमका लागी ७० लाख रुपैयाँ बराबर अनुदान रकम बाड्दैछ । जसका लागी २१ दिनको अवधिमा ५ सय ८२ कृषक तथा फर्म समुहले निवेदन दिएका छन् ।
प्रदेश सरकारले अनुदान वितरण कार्यविधि शंसोधन गरेर किसानले सोझै स्थानिय तहको सिफारिसको आधारमा निवेदन दिन सक्ने भएकाले किसानले सानो सानो उपकरणका लागी अनुदान माग गर्दे निवेदन दिएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । ‘पहिले कागजपत्र पुर्याउनै झन्झट हुन्थ्यो, समुह दर्ता भएको, करचुक्ता लगायतका कागजपत्र खोजिन्थ्यो, अहिले सहज भएकाले वास्तविक किसानले अनुदान पाउने प्रमुख चौबेले विश्वास व्यक्त गर्नुभयो । स्थानिय तहले वास्तविक किसानको हातमा अनुदान नपुर्याउदा ज्ञानकेन्द्रमा किसानको भिड बढेको पनि उहाँले बताउनुभयो ।
ज्ञान केन्द्रका अनुसार किसानले सोझै आवेदन दिन पाउने भएकाले अहिले, कहिल्यै ज्ञानकेन्द्रमा नआएका किसान पनि अनुदानका लागी आएका छन् । सिचाँई सहित कृषि विकास कार्यक्रम अन्र्तगत पुर्वाधारको हकमा कुल लागतको अधिकतम ७५ प्रतिशत र अन्यको हकमा अधिकतम ५० प्रतिशत अनुदान उपलब्ध गराईने छ । साथै समुह तथा सहकारीको हकमा अधिकतम ५ लाख र व्यक्तिगत फर्म वा कम्पनीको हकमा अधिकतम १ लाख ५० हजार सम्म अनुदान दिईने छ ।
अधिकांश किसानले मोटर, पम्पसेट, डेलिभरी पाईपका लागी आवेदन दिएका छन् । यो कार्यक्रम अन्र्तगत सोलार सिचाँई, थोपा सिँचाई, लिफ्ट सिचाँई, बोरिङ्ग, मोटर पाईप, पम्पसेट लगायतका समाग्रि खरिद तथा सिँचाई कुलो, पोखरी, स्यालो ट्युबेल, डिप बोरिङ्ग आदि निर्माण तथा सुधारका लागी अनुदान दिने व्यवस्था रहेको ज्ञानकेन्द्र प्रमुख डाक्टर चौबेले जानकारी दिनुभयो । बजेट कम भएकाले मापदण्का आधारमा रित पुगेका निवेदन उपर कार्यान्वयन प्रक्रिया अगाडी बढाईने ज्ञानकेन्द्र कार्यालयले जनाएको छ । किसानहरुले सोझै निवेदन दिनपाए पछि खुसि व्यक्त गरेका छन् ।
साथै ज्ञान केन्द्रमा अन्य अनुदान कार्यक्रममा भने किसानको न्युन सहभागिता रहेको छ । बगर खेति प्रर्वद्धन कार्यक्रम अन्र्तगत चार ओटा निवेदन परेको छ । जसका लागी ५ लाख बजेट छ भने पुष्प उत्पादन तथा प्रर्वद्धन कार्यक्रमका लागी ३ ओटा निवेदन अनुदानका लागी परेको छ । यसैगरी गोब्रे च्याउ उत्पादन पुर्वाधार विकास सहयोग कार्यक्रमका लागी २ ओटा मात्रै निवेदन परेको छ जसमा २० लाख रुपैयाँ बजेट रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्