चोरी शिकारी नियन्ञणमा युवाहरुको सकृयता
नवलपुर- चितवन राष्ट्रिय निकुन्जबाट बन्यजन्तु र काठ लगायत वनपैदावारको चोरी निकासी रोक्न नवलपरासी पूर्वका युवाहरुले अभियान चलाएका छन् ।
पूर्बी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको त्रिवेणी क्षेत्र जहाँ भारतसँगको सीमा जोडिएकोले पनि तस्करहरुले निकुन्ज भित्रबाट हुने वन्यजन्तु र काठको चोरी तस्करी गर्दै आएकोले चोरी तस्करी रोक्न युवाहरुको सक्रियता बढेको हो ।
निकुन्जमा विभिन्न जनावर र काठ दाउरा, जडिबुटी लगायतको अवैध रुपमा चोरहरु भित्र पसि नारायणी नदिमा बगाउँदै भारततर्फ दैनिकी जस्तै निकासी हुँदै आएको त्रिबेणीका स्थानीय आरपी उपाध्यायले बताउनुभयो ।
चोरी तस्करी रोक्न पटक-पटक वन कार्यालय र निकुन्जमा जानकारी गराउँदा समेत वेवास्ता गरिएपछि गाउँलेको सक्रियतामा आँफै चोरी निकासी रोक्ने अभियान चलाईएको स्थानिय मेनका बोहराले बताउनुभयो ।
चोरी तस्करी रोक्न गाउँलेकै पहलमा त्रिबेणीमा बन्यजन्तु चोरी सिकार नियन्त्रण युवा जागरण अभियान समिति समेत गठन गरिएको छ । समिति गठनपछि चोरी सिकारी र चोरी तस्करी नियन्त्रणमा स्थानिय युवा र युवतीहरु सक्रिय भएका छन् ।
अभियान समितिका सहसचिव समेत रहेकी बोहराले अभियान समितिको सक्रियतामा राती गस्ति गर्ने, निकुन्ज भित्र पस्ने जो कोहीको पछाडी सुराकी गर्न आफ्ना मान्छे पछिपछि पठाउने, प्रचारप्रसार गर्ने, अन्तरकृया लगायतका काम गर्दै आएको बताउनुभयो ।
चोरी शिकारी रोक्न युवाहरु सक्रिय भएपछि निकुन्ज प्रशासनले पनि सघाउन थालेको छ । समितिका सदस्य राम प्रसाद थापाले युवाको अभियान पछि चोरी सिकारी र काठ तस्कर निरुत्साही भएका बताउनुभयो । उहाँका अनुसार कर्मचारीकै मिलोमतोमा हुने चोरी शिकारी र काठ चोरी तस्करी अहिले रोकिएको छ ।
युवाको अभियानले चोरी सिकारी गराउने कर्मचारीको विचारमा पनि सकारात्मक परिवर्तन आएको बताउदै सदस्य थापाले चोरी शिकारीहरु अहिले त्रिवेणी क्षेत्र छाडेर अन्यत्र गएको बताउनुभयो । उहाँले जागरण अभियानले स्थानियबासीमा पनि बन्यजन्तुको महत्वबारे चेतना फैलाउने काम भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्