काँक्रेविहारमा जरायो मृत फेला
सुर्खेत- काँक्रेविहारको जंगलमा जरायो मृत अवस्थामा फेला परेको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको पाललगंगा डाँडोमा वयस्क भाले जरायो मृत अवस्थामा फेला परेको हो ।
स्थानीयले जरायो मृत अवस्थामा देखेपछि तत्काल डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । सूचना पाएलगतै वीरेन्द्रनगर सव–डिभिजन र सशस्त्र वन रक्षकको टोली घटनास्थल पुगेर हेर्दा प्राकृतिकरुपमै जरायोले मृत्युवरण गरेको ठहर गरेको छ ।
करिब ९० किलो वजन भएको मृत्त जरायोको लम्वाई २ मिटर ३० सेन्टिमिटर, उचाई १ मिटर ६० सेन्टिमिटर रहेको डिभिजन वन कार्यालयका प्रमुख बसन्तबाबु श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँले कुनैपनि चोटपटक नलागेको वयस्क जरायो विरामीका कारणले स्वाभाविक मृत्यु भएको निष्कर्षमा पुगेको बताउनुभयो । मृत जरायोलाई स्थानीयको रोहवरमा डिभिजन वन कार्यालय परिसरको जमिनमा गाडिएको उहाँको भनाइ छ ।
पछिल्ला केही वर्षयता विभिन्न कारणबाट काँक्रेविहार जंगलमा जरायो मर्ने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्