म्याग्दीका आयोजनामा भएको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्दी- म्याग्दीका जनप्रतिनिधिको टोलीले सङ्घीय सरकारमार्फत जिल्लामा सञ्चालित आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर म्याग्दीका विकास निर्माण र विविध विषयमा ध्यानाकर्षण गराएको भेटघाटमा सहभागी गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिनुभयो ।

टोलीमा म्याग्दी प्रदेशसभा (२)बाट निर्वाचित गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद भण्डारी, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने सहभागी हुनुभएको थियो ।

“सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटघाटमा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था र थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो”, सांसद भण्डारीले भन्नुभयो, “बेनी अस्पतालको भवन, मालढुङ्गा–बेनी, बेनी–जोमसोम सडक, बृहत् पिप्ले–भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।”

प्रधानमन्त्रीले विभागीय मन्त्री र सचिवसँग छलफल गरेर गुनासोको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ऊर्जामन्त्री बस्नेतलाई बेनीबजार संरक्षण आयोजनामा थप बजेटको व्यवस्था गर्न, तातोपानी, बगरफाँट, बाबियाचौर, दरवाङलगायत तटीय बस्तीमा नदी नियन्त्रण र सिँचाइ आयोजनाका विषयमा ध्यानाकर्षण गराइएको सांसद भण्डारीले बताउनुभयो ।

टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलगायत विभिन्न विभागीय मन्त्री र अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.