गण्डकी प्रदेश र नेपाल टेलिभिजनबीच सम्झौता
पोखरा- नेपाल टेलिभिजन र गण्डकी प्रदेश सरकारबीच सहकार्य हुने भएको छ ।
यसका लागि नेपाल टेलिभिजन र गण्डकी प्रदेश सरकारबीच आज सम्झौता भएको हो ।
गण्डकी प्रदेशका महत्वपूर्ण गतिविधिहरु समेटेर समाचारमूलक कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धमा मुख्यमन्त्रीको कार्यकक्षमा भएको सम्झौता अनुसार नेपाल टेलिभिजनको समाचार च्यानल (एनटिभी न्यूज)ले पाक्षिक रुपमा ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम निर्माण तथा प्रसारण गर्नेछ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको सम्झौतामा प्रदेशको तर्फबाट सचिव तिर्थराज भट्टराई र नेपाल टेलिभिजनका तर्फबाट निर्देशक राजकुमार थापाले हस्ताक्षर गर्नुभएको हो ।
नेपाल टेलिभिजनसँगको सम्झौतापछि मुख्यमन्त्री पाण्डेले संक्षिप्त प्रतिकृया दिनुहुँदै पर्यटन र उर्जामा प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशले गरेका काम र जनचासोका विषयलाई राष्ट्रिय रुपमा नै प्रचारप्रसार गर्न यो सहकार्य गरिएको बताउनुभयो । उहाँले टेलिभिजन कार्यक्रममार्फत जनताका दु:ख र गुनासाहरुलाई पनि सम्बोधन गर्न प्रदेश सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संघीयताका बारेमा उठेका कतिपय प्रश्नहरुको जवाफ कामबाट दिनुपर्ने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले नेपाल टेलिभिजनले प्रदेश र स्थानीय सरकारले प्रवाह गरेको सेवालाई जनतामाझ पुर्याउन भूमिका खेल्नुपर्छ भन्नुभयो ।
यसैगरी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाहले नेपाल टेलिभिजनले हरेक प्रदेश सरकार र स्थानीय निकायहरुसँगको सहकार्यलाई अघि बढाउने नीति अनुरुप गण्डकी प्रदेश सरकारसँग यो सहकार्य शुरु गरिएको उल्लेख गर्नुभयो । कार्यकारी अध्यक्ष शाहले जनचासो र जनजीविकासँग सम्बन्धित विषयलाई टेलिभिजनले प्राथमिकताका साथ उठाउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
यसैगरी प्रदेश सचिव तिर्थराज भट्टराईले नेपाल टेलिभिजनसँगको सहकार्यमा प्रदेशले गरेका र गर्न खोजेका मुख्य कामहरु जनतालाई थाह हुने र सरकारले अझ सचेत भएर काम गर्न मद्दत पुग्ने धारणा राख्नुभयो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, नेपालटिभीअनलाइनका संयोजक गोविन्द धिताल, प्रदेश सांसदहरु र स्थानीय जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।।
प्रतिक्रिया राख्नुहोस्