गल्याङ नगरपालिका-९ माझी बस्तीका कुनैपनि बालबालिका विद्यालय जाँदैनन्

स्याङ्जा- साक्षरताको हिसावले ८२ प्रतिशत साक्षरता रहेको जिल्ला स्याङ्जामा कुनै यस्ता ठाउँहरु पनि रहेका छन्, जहाँ बालबालिका विद्यालय नै जाँदैनन् । भुगोलको हिसाबले बिद्यालय टाढा रहेको र स्थानीय क्षेत्रमा विद्यालय नहुँदा गल्याङ नगरपालिका-९ साखर माझी बस्तीका बालबालिका बिद्यालय नगई घाँस दाउरा गर्न बिवस छन् ।

भूगोलका हिसावले टाढा रहेको र नजिक बिद्यालय नहुँदा झोलुङ्गे पुल तरेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता अझै पनि कहिंकतै रहेका देखिन्छन् । सो बस्तीका करिब १७ घर माझी समुदायको बसोवास छ । यहाँ विद्यालय जाने उमेरका १९ जना बालबालिका रहेका छन् । तर यहाँका कुनैपनि बालबालिका विद्यालय जान मान्दैनन् ।

नजिक बिद्यालय नभएकोले झोलुङे पुल तरेर छिमेकी जिल्ला पाल्पा अध्ययनका लागी जानुपर्दा समस्या भएको अविभावकले बताउने गरेका छन् ।

माझी समुदायमा शिक्षाको अभावले बिद्यालय पठाउन चासो नदिंदा यहाँका बालबालिका घरमै बस्दै आएका छन् । नागरिकता नपाएका माझी समुदायलाई स्थानीय सरकारले तीन बर्षअघि नागरिता प्रदान गरी बिद्यालय पठाउने भनिएपनी अहिलेसम्म काम अगाडी नबढाउँदा बालबालिका कालिगण्डकी नदी छेउमै घाँस दाउरा गर्न बाध्य छन् ।

सरकारले शिक्षाप्रति गरेको लगानी र प्रत्येक बालबालिकाले निशुल्क शिक्षा पाउनुपर्छ भन्ने भनाईलाई मध्यनजर गर्दै माझी समुदायका बालबालिकालाई सहज अध्ययनका लागी पहल गर्ने बताउनुहुन्छ गल्याङ नगरपालीका-९ का वडाअध्यक्ष नामदेव खनाल ।

कुनैबेला प्रत्येक सरकारी कार्यालयमा स्याङ्जाका कर्मचारीले सेवा दिइरहेको अवस्थामा ८२ प्रतिशत साक्षरता जिल्ला भन्दै गर्दा यहाँको माझी बस्तीका बालबालिकालाई बिद्यालय जान आर्कषित नहुनाको कारण खोजी गर्नुपर्ने र उचित पहलका लागी भने तत्कालै काम गर्नुपर्ने जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.