वाणिज्य बैंकहरुको खराव कर्जा बढ्यो
काठमाडौँ – चालु आर्थिक वर्षको पुष मसान्तसम्म अधिकांश वाणिज्य बैंकहरुको खराव कर्जा बढेको छ ।
यस वर्ष बैंकहरुको खराव कर्जा औषतमा ३ दशमलव ४० प्रतिशत पुगेको छ । गत वर्षको पुष मसान्तसमा २ दशमलव ३१ प्रतिशत रहेको थियो ।
गत आर्थिक वर्षको पुष मसान्तसम्ममा २ दशमलव ३१ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३ दशमलव ४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि बैंकहरुको औषतमा खराब कर्जा ३ दशमलव ४ प्रतिशत नै थियो । खराब कर्जाको दर बढ्न थालेपसिछ बैंकहरु चिन्तित बन्न थालेका छन् ।
कोरोना कालमा सरकारले ऋणीहरुलाई विभिन्न सहुलियत उपलबध गराएको थियो । पछि समय विस्तारै अनुकुल हुँदै जानु र सहुलियतको म्याद पनि सकिदै जाँदा त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको छ ।
विशेष गरी पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकहरूको खराब कर्जा अनुपात बढ्न गएको हो । महँगी, व्यवसायमा आएको संकुचनका कारण ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ । त्यस्तै, सरकारले निर्माण क्षेत्र लगायतको अर्बौं रुपैयाँ भुक्तानी गर्न सकेको छैन । त्यसले बजारमा नगद प्रवाहमा कमी ल्याएको छ । साथै, निर्माण क्षेत्रसँग जोडिएका व्यवसायीहरूको आम्दानी पनि घटेको छ । यी विभिन्न कारण समग्र ऋणीहरूको ऋण तिर्ने क्षमतामा कमी आएका कारण खराब कर्जाको दरमा वृद्धि भएको छ । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकको खराब कर्जा बढेको छ ।
खराब कर्जा बढ्दा बैंकको पुँजी तथा आम्दानीमा नकारात्मक प्रभाव पर्ने गर्दछ । त्यस्तै,खराब कर्जा बढ्दा बैंकले अतिरिक्त प्रोभिजन राख्नु पर्ने र त्यसले पुँजी कोष अनुपातमा समेत नकारात्मक असर गर्दछ । यसले व्यापार व्यवासय सहित समग्र अर्थतन्त्रमा असर पर्दछ ।
बैंक वित्तीय संस्थाले ऋणीलाई निश्चित समयका लागि ऋण दिएका हुन्छन् । त्यस्तो ऋण समयमा उठेन भने त्यस्तो कर्जालाई खराब कर्जाको रुपमा लिइन्छ ।
बैंकले लगानी गरेको कर्जा चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि उठाउन सकेन भने त्यस्तो ऋणलाई खराब कर्जाका रुपमा लिइन्छ ।
प्रतिक्रिया राख्नुहोस्