मरिण डाईभर्सनको सुरुङ निर्माणमा पटक-पटक अवरुद्ध आएपछि क्षमापूजा

सिन्धुली- राष्ट्रिय गौरबको आयोजना अन्तर्गत सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम यतिबेला अवरुद्ध अवस्थामा छ । सुख्खा पहिरो खसेपछि सुनकोसी-मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम डेढ महिनादेखि रोकिएको हो ।
सुरुङको दायाँबायाँ दुवैतर्फबाट पाउडर जस्तो माटो झर्ने र पानी मिसिंदा लेदो हुने भएपछि सो लेदोले सुरुङ खन्ने टनेल बोरिङ मेशिन थिचिएर झन्डै डेढ महिनादेखि काम अवरुद्ध भएको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कार्यालय सिन्धुलीले जनाएको छ ।
सुनकोसीको पानी मरिणमा खासाल्न १३ दशमलव तीन किलोमिटर लम्वाइ रहेको सुरुङको हालसम्म दश हजार पाँच सय ४४ मिटर सुरुङ निर्माण भएको छ । कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण सुरु भएको सुरुङको दुइहजार पाँचसय ४१ मिटर मात्र काम बाकी रहँदा गत पौष ९ गतेबाट मेसिन पहिरोमा फसेपछि निर्माण कार्य अवरुद्ध भएको हो ।
लामो समयदेखि टिविएम मेसिन पहिरोमा फसेपछि मंगलबार सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयले कमलामाई नगरपालिका २ कुसुमटारस्थित आयोजनास्थलमा होमहोमादीसहितको क्षमा पुजा तथा विश्वकर्माको गरेको छ ।
सुनकोसी गाउँपालिकाको ट्याङट्याङ खोलामुनि सुरुङ खन्ने मेसिन टिबीएम फसेपछि निकाल्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विज्ञहरुबाट काम भइरहेको र बाइपास टनेल बनाई मेशिनलाई बचाउने काम भएको आयोजना निर्देशक मित्र बरालले जानकारी दिनुभयो ।
आयोजना कार्यालयका अनुसार टिबीएम निर्माण अमेरिकी कम्पनीका प्राविधिक, परामर्शदाताका विज्ञहरु, निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीका प्राविधिक लगायतले स्ट्रोक भएको मेशिनलाई निकालेर काम सुचारु गर्ने तयारी भएको छ ।
२०७९ असोज २८ गतेबाट सुरु भएको सुरुङ निर्माणको काममा भौगोलिक समस्याका कारण तीन पटक अवरोध आएको आयोजनाले जनाएको छ । जसमध्ये हाल सबैभन्दा लामो समय मेशिन थिचिएर सुरुङ निर्माणको काम अवरुद्ध भएको हो ।
आयोजनाको कुल लागत ४६ अर्व १९ करोड रहेकोमा लागत बढेर ४९ अर्व ४२ करोड ३१ लाख रुपैयाँ खर्च हुनेभएको छ । सुनकोसी गाँउपालिकाको कानढुंग्रीस्थित सुनकोसी नदीमा करिब ३० मिटर अग्लो १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका२ कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ ।
त्यहाँ ६६ मिटरको हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने यो आयोजनाको मुख्य लक्ष्य रहेको छ । आयोजना निर्माणपश्चात १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिचाई सुविधा पुग्ने र मुलुकमा कृषि उत्पादनको उल्लेख्य बृद्धि हुने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्