संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा: सभापति देउवा
गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी
ललितपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र यसको रक्षा अहिलेको मुख्य एजेण्डा भएको बताउनु भएको छ ।
ललितपुरमा आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै सभापति देउवाले संविधानको कार्यान्वयन आजको मुख्य एजेण्डा भएको बताउनु भएको हो ।
संविधान कार्यान्वयनमा देखिएको समस्या पहिचान गरेर शासकीय स्वरूपमा प्रतिकूल प्रभाव नहुनेगरी संविधान संशोधनको बहस प्रारम्भ गर्नुपर्ने पनि सभापति देउवाले बताउनु भयो ।
‘संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा हुन् । यो हाम्रो दायित्व पनि हो । संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिन्छ । संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व हुन्छ ।’ सभापति देउवाले भन्नु भयो ।
पार्टी सधै सैद्धान्तिक मान्यता नीति र कार्यक्रम लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने उहाँको भनाइ थियो ।
सभापति देउवाले गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताउँदै भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने उल्लेख गर्नु भयो ।
कतिपय नेताहरुले गठबन्धनको विषयलाई लिएर महासमिति बैठकबाट निर्णयमा पुग्नुपर्नेमा जोड दिइरहेका वेला देउवाको यस्तो धारणा राख्नु भएको हो ।
नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले महासमितिको बैठक उद्घाटनमा प्रस्तुत गर्नु भएको मन्तव्य पूर्ण पाठ
पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य र बैठकमा उपस्थित सबै साथीहरु, पत्रकार साथीहरु,
नेपालको इतिहासमा अविस्मरणीय दिनका रुपमा रहेको आज फागुन ७ गतेको अवसर पारेर नेपाली कांग्रेसले महासमिति बैठक शुभारम्भ गरी रहेको छ । म यस महासमिति बैठकमा सबै साथीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।
देशमा लोकतन्त्र स्थापना र संरक्षणका लागि आफ्नो जीवन अर्पण गर्नु हुने सबै प्रातः स्मरणीय शहिदहरुमा श्रद्धाञ्जली व्यक्त गर्दछु । नेपाली कांग्रेसको स्थापना गर्ने, पार्टीलाई मार्ग निर्देश गर्ने, वैचारिक र संगठनात्मक रुपले सवल बनाउँदै कांग्रसकै नेतृत्वमा देशमा ठूला ठूला परिवर्तनको अभियानलाई सार्थक तुल्याउने आदरणीय नेता वी.पी. कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । पार्टीमा निरन्तर रुपले क्रियाशिल रही लोकतन्त्र स्थापना, पुनस्र्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरण लगायत तमाम दुःख कष्ट व्यहोरेका र पार्टीलाई सुदृढ बनाउन दिनरात प्रयत्नशिल रहेका सबै नेता र साथीहरुको उच्च सम्मान गर्दै वहाँहरुको योगदान स्मरण गर्न चाहन्छु ।
साथीहरु,
हामी पार्टीको १४ औं महाअधिवेशन पछिको पहिलो महासमिति बैठक प्रारभ्म गरी रहेका छौं । पार्टीको १४ औं महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न पाइएन । पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णय अनुसार यो महासमिति बैठक बोलाइएको हो । यो बैठकमा विभिन्न दस्तावेज प्रस्तुत हुनेछन् । सबै सहभागी साथीहरुले ती विषयहरुमा राम्ररी अध्ययन गरी आफ्ना विचार राख्नु हुनेछ । साथीहरुका विचार, सुझाव र धारणा समेत समेटेर नीतिगत दस्तावेजहरु परिमार्जन गरी पारित गरिने छन् ।
साथीहरु,
नेपाली कांग्रेसले देशमा लोकतन्त्र स्थापना, पुनस्र्थापना र संरक्षणका लागि लामो संघर्ष गरेको इतिहास सबैमा विदितै छ । हाम्रो इतिहास लोकतन्त्रका लागि जनताको हक अधिकार र स्वतन्त्रताका लागि त्याग तपस्या र बलिदानका गाथाले भरिपूर्ण छ । मुलुकमा जहिले पनि संकट उत्पन्न भएका बेला नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ । लोकतान्त्रिक मूल्य मान्यतासँग कहिल्यै पनि सम्झौता नगर्ने नेपाली कांग्रेसको दृढताका कारणले नै यो पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक मात्र लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउन सफल भएको हो । लोकतान्त्रिक मूल्य मान्यता प्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको छ । लोकतन्त्रको स्थापना, पुनस्र्थापनाका लागि भएका श्रृंखलाबद्ध क्रान्ति, संघर्ष आन्दोलनदेखि दश वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने विषय होस् वा अन्तरिम संविधानदेखि वर्तमान संविधान निर्माण र संविधानको कार्यान्वयनको कार्यमा नेतृत्व प्रदान गरेका सबै काम नेपाली कांग्रेसको महत्वपूर्ण भूमिकाका उदाहरण हुन् । नेपाली कांग्रेस आफ्नो इतिहासमा गर्व गर्दै वर्तमान र भविष्यमा समेत जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नेछ । नेपाली कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुनेछन् ।
साथीहरु,
नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको हो । संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ । यो शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुकुल छ । संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य एजेण्डा हुन् । नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ छ र यो हाम्रो दायित्व पनि हो । यसै संविधानको उचित कार्यान्वयले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । संविधान गतिशिल दस्तावेज हो । संविधानको दीर्घ जीवनका लागि संविधान माथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक हुन्छ । संविधान जनताको आशा, भारोषा र मर्यादा गर्ने विषय बन्नु पर्दछ । संविधान जारी भएको आठ वर्ष भई सकेको छ । संविधान कार्यान्वयको मूल्याङ्कन गर्ने, कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान गर्ने समय भएको छ । संविधानले व्यवस्था गरेको शासकीय स्वरुप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधानको संशोधन गर्न सकिने गरी अब छलफल प्रारम्भ गर्नु पर्दछ ।
साथीहरु,
अहिले हामी गठबन्धनको अभ्यासमा छौं । अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन । केही समय पहिले प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए । संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्कालनै गठबन्धन बनेको हो । गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रुपमा लिएका छौं । महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेको छ ।
हामीले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं । मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुवै छन् । यो प्रणालीले देशको सबै जातजाती र समुदायको उचित प्रतिनिधित्वलाई प्रात्याभूति गरेको छ । यो सकारात्मक पक्ष हो । तर यो निर्वाचन प्रणालीमा कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुन्छ । वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ ।
आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लागौं । यसका लागि म पार्टीका सबै साथीहरुलाई अुनशासित, एकतावद्ध र क्रियाशिल भई पार्टी संगठन सुदृढ गर्ने काममा लाग्न आव्हान गर्दछु । भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।
साथीहरु,
हाम्रो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । देशका सबै गाउँवस्ती सबै वर्ग समुदायमा बलियो संगठन छ । गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय तीनै तहमा सबैभन्दा बढी जननिर्वाचित प्रतिनिधि हाम्रा छन् । नेपाली कांग्रेस नेपाली जनताको सबै भन्दा बढी आशा, भरोषा र विश्वास गरेको पार्टी हो । जनताको यो विश्वासलाई खण्डीत हुन दिनु हुँदैन । नेपाली कांग्रेसका साथीहरुले उच्च मनोवल र आत्मविश्वासको साथ राष्ट्रसेवामा समर्पित हुनु पर्दछ । हामीले शिर झुकाउनु पर्ने, मन सानो गर्नुपर्ने कुनै कारण छैन । नेपाली कांग्रेसको विधानमा समय सापेक्ष संशोधनको आवश्यकता छ । विधानले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको छ । पार्टीमा समानुपातिक प्रतिनिधित्व भएको छ । पार्टीलाई सांगठनिक रुपले थप सबल बनाउनका लागि विधानमा संशोधन बारे आवश्यक छलफल गर्न सकिन्छ ।
साथीहरु,
विश्वभरी नै आर्थिक मन्दीको अवस्था छ । कोभिड १९ को महामारी, अन्तर्राष्ट्रिय स्तरमा केही मुलुक बिच युद्ध वा अशान्तिका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव परेको छ । तथापी आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । आर्थिक प्रतिकूलताका कारण चाहे जस्तो काम गर्न सकिएको छैन । जनतामा केही निराशा देखिएको छ । हामी प्रतिकूल अवस्थालाई अनुकुलतामा बदल्न सक्छौं । जनतामा नयाँ भरोषा र विश्वास जगाउन सकिन्छ । यसका सबै मिलेर काम गर्नु पर्दछ । जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौं । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ । हामीले विधिको शासन र सुशासनमा विषेश जोड दिनु पर्दछ ।
साथीहरु,
नेपाली कांग्रेसले सदैव सम्वाद, सहमति र सहकार्यको नीति अबलम्बन गरेको छ । देशमा विद्यमान राजनीतिक दलहरुमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर कतिपय हाम्रा साझा विषय छन् । देशको सर्वाभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रकृयाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा हाम्रा समान धारणा हुनु पर्दछ । यस निम्ती सम्वाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नु पर्दछ । पार्टी भित्र वा सबै पार्टी विचमा पनि निरन्तर सम्वाद र सहमतिको अभ्यास गर्नु पर्दछ ।
महासमितिको यो बैठकलाई देश भित्र र विदेशमा रहेका सबै नेपालीले उत्सुकतापूर्वक हेरी रहेका छन् । अन्तर्राष्ट्रिय जगतको पनि चासोको विषय बनेको छ । संचार जगतले महासमितिलाई निकै महत्व दिएका छन् । महासमितिको यो बैठक नेपाली कांग्रेसलाई थप सवल सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
धन्यवाद ।
जय नेपाल !
प्रतिक्रिया राख्नुहोस्