पर्सामा राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालीन कर्फ्यु आज राति १० बजेसम्मका लागि हटाएको छ ।

सोमबार साँझ ५ बजेदेखि जारी निषेधाज्ञा आदेश सर्वसाधारणको सुविधालाई मध्यनजरमा राख्दै हिजो चार घण्टा खोलेर पुनः लगाइएको थियो भने आज बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको कर्फ्यु आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम फागुन ७ गते साँझ ५ बजेदेखि अर्को आदेश नभइन्जेलका लागि जारी निषेधाज्ञा बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

गएको बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि जुलुसका क्रममा सोमबार विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.