नयाँ सरकार गठनको गृहकार्य सुरुः आजै नयाँ मन्त्रिपरिषद् गठनको तयारी
काठमाडौं- मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दा राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नयाँ मन्त्रिपरिषद् गठन हुँदैछ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले सरकार परिवर्तन हुन लागेको जानकारी दिंदै आजै सानो आकारको मन्त्रिमण्डलले सपथ लिने बताउनुभएको छ ।
बिहान मात्रै बालकोटमा नेकपा एमालेको सचिवालय बैठक बसेको थियो । नयाँ राजनीतिक घटनक्रम विकसित भएसँगै बिहानैदेखि राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको सचिवालय बैठक पनि बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।
आजै बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।
पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालले पनि कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
यसैबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । सत्ता समीकरण बदलिने भएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्