बालुवाटारमा गठबन्धनको बैठक सकियो,नेताहरु मन्त्रीको सपथग्रहण समारोहमा
काठमाडौँ- परिवर्तित सत्ता गठबन्धनबाट आज नियुक्त हुनु भएका तीन जना मन्त्रीहरु सपथग्रहणका लागि राष्ट्रपति कार्यालय शितल निवास पुग्नु भएको छ ।
मन्त्रीहरुको सपथग्रहण कार्यक्रमका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लगायत गठबन्धनमा रहेका एमाले र रास्वपा नेताहरु राष्ट्रपतिको कार्यालय पुग्नु भएको छ ।
बालुवाटारमा गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री गठबन्धनका नेताहरु मन्त्रीको सपथ ग्रहण कार्यक्रमका लागि शितल निवास पुग्नु भएको हो ।
सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी हुनुहुन्छ ।
तिनै जनालाई मन्त्रीहरुको जिम्मेवारी नतोकिएको र विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको प्रधामन्त्रीका प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्