फेरी मृत बाघ फेला, दुई वर्षको अन्तरालमा पाँच वयस्क बाघले ज्यान गुमाए

बारा- बाराको निजगढ नगरपालिका-४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटे बाघ मृत फेला परेको छ । यो सँगै पर्सा राष्ट्रिय निकुञ्जमा गएको दुई वर्षको अन्तरालमा पाँच वयस्क बाघले ज्यान गुमाएका छन् ।
कछडिया सामुदायिक वनको छेउ बकैया खोला किनारमा एक वयस्क बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सवडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिएका छन् ।
चार-पाँच दिन अगाडि नै मरेको देखिने पोथी बाघ करिब आठ वर्षको रहेको छ । पर्सा राष्ट्रिय निकुञ्जको नजिकै मृत फेला पारेको बाघलाई बाख्रा खाएको भन्दै कसैले मासुमा बिष प्रयोग त गरेको हैन भन्ने आंशकामा छानविनका लागि पठाईएको डिभिजन वन कार्यालय बाराका वन अधिकृत विनोद सिहले बताउनु भएको छ ।
यसअघि निकुञ्जको खोरमा रहेको तीनवटा पाटे बाघमध्ये यसअघि दुईको मृत्यु भएको थियो । ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको यी दुवै बाघले जनधनको क्षति गरेको भन्दै निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो ।
त्यस्तै पथलैयामा गाडीको ठक्करले एक र द्रुतमार्गमा एक गरी दुई बाघ मृत्यु भईसकेको छ । हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनी बाघको सङ्ख्या बढ्दै गएको छ ।
१२ वर्ष अघिसम्म यो निकुञ्जमा तीनवटा मात्र बाघ थिए । गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको संख्या बढेसँगै बासस्थानको अभाव हुदा बाघहरु आफैंआफैं जुधेर घाईते हुने र घाईते बाघले बस्तीमा पसेर जनधनको क्षति पुर्याउने गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।






प्रतिक्रिया राख्नुहोस्