शुक्लाफाँटाका ५९ जना बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार सय ६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो ।

नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टका अनुसार युवा रोजगारीका लागि रुपान्तरण पहलअन्तर्गत ३४ र कामका लागि परिश्रममा आधारित सामुदायिक आयोजनाअन्तर्गत २५ जनालाई रोजगारी उपलब्ध गराइएको छ ।

रोजगारीमा संलग्न ५९ जनामा ९५ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षका स्वीकृत ६० वटा आयोजनामध्ये १८ आयोजनालाई कार्यान्वयनमा ल्याई नगरपालिकाका बेरोजगारहरूलाई रोजगारीमा संलग्न गराइएको शाखा प्रमुख भट्टले बताउनुभयो ।

“कार्यक्रमको मापदण्डअनुरुप दैनिक रु छ सय २८ न्यूनतम पारिश्रमिक दिनेगरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।”

रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताउनुभयो ।

“आर्थिक अवस्था कमजोर हुँदा मजदुरी खोज्दै हिँडनुपर्ने अवस्था थियो”, नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भन्नुभयो, “नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।”

अहिले सय दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उहाँले बताउनुभयो । “बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु पाँच सयमात्रै उपलब्ध हुने गरेको छ”, उहाँले भन्नुभयो, “महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रमअन्तर्गत दैनिक ज्याला रु छ सय २८ पाइन थालेको छ, रोजगारी पाउँदा घरखर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।”

गत आर्थिक वर्षमा नगरपालिकामा पाँच सय ७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.