धनकुटामा बन्दाकोभीको यस्तो हालत, सित्तैमा दिँदा पनि कसैले लगेनन् (फोटो फिचर)

धनकुटा– धनकुटाका किसानको बन्दाकोभी बिक्री नभएपछि बारीमै कुहिएको छ । जिल्लाको छथर जोरपाटी र महालक्ष्मीको करिव १ हजार हेक्टरमा व्यवसायिक तरकारी खेती गरिन्छ, जसमा आलुपछि बन्दाकोभी यहाँको मुख्य उत्पादन हो।
लामो समय भएको बन्दाबन्दीले बेच्न ठिक्क पारेको बन्दाकोभी कसैले नलगिदिएपछि किसानको मुुख्य आम्दानीको स्रोत गुमेको छ । किसानको भन्सामै प्रभाव पुुग्ने गरि निम्तिएको समस्याले किसानहरु आत्तिएको र अब कसरी दैनिकी चलाउने समस्यामा परेको छथर जोरपाटी कि किसान सुष्मा थापाले बताउनुभयो।

गएका वर्षहरुमा कम्तिमा ७ रुपैयासम्म प्रतिकेजीमा बिक्री हुने बन्दा यो पटक भने २ रुपैयाँमा दिँदा पनि कसैले नलगेको किसानको गुनासो छ । किसानले बन्दा हँसियाले काटेर बारीमै मल होस् भन्नका लागि कुहाएका छन् भने कत्ति त्यसै बोटैमा कुहिएका छन् । खनजोत गर्न अप्ठ्यारो भएकाले त्यसै दिँदासमेत कसैले नलगिदिएको दिलमाया खड्का बताउनुभयो ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाको करिव १ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३२ करोड मुल्यको तरकारी बिक्री हुने गरेकोमा यो पटक २ करोड मूल्य बराबरको बन्दाकोभी खेर गएको सिधुवा कृषि भण्डारका प्रबन्धक मेघेन्द्र गुरुङले बताउनुभयो ।

यहाँ उत्पादित बन्दाकोभीको मूख्य बजार पूर्वी तराईका सहर र भारतको पश्चिम बंगाल तथा बिहारका विभिन्न सहर हुन् । तर, अचम्म त के छ भने अहिले गाउँ नजिकको बजार सिँधुवामा तराईमा उत्पादित तरकारी सहज रुपमा पाइन्छ । तर, बजार छेउका गाउँका किसानको वारीमा तरकारी कुहिएको छ ।











प्रतिक्रिया राख्नुहोस्