कैलालीका ६ हजार भन्दा धेरै घर डुबानमा

कर्णालीको तटीय क्षेत्रमा जोखिम बढ्दो

कैलाली- कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढि  घरधुरी  डुबानमा परी बिस्थापित भएका छन । डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन्।

त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले ३० घर भत्किएका छन्। डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनु भयो ।

विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ । बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने चार  जना अझै बेपत्ता छन्।  कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरीे र एक जना मोटरसाइकल चालक  बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक जनक धामीले बताउनु भयो ।

यसैबीच  जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । यसैबीच कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.