बारामा आठ मेगावाट सौर्य विद्युत उत्पादनको तयारी अन्तिम चरणमा

बारा- तराई-मधेश क्षेत्रमा सौर्य ऊर्जाबाट विद्युत उत्पादन हुने क्रम तीव्र बनेसँगै बारामा ८ मेगावाटको सौर्य विद्युत उत्पादन हुने भएको छ ।
यसले तराई-मधेशमा खेर गइरहेको जमिन प्रयोग गरी सौर्य ऊर्जा मार्फत विद्युत् उत्पादनसँगै आम्दानीको सम्भावना बढाएको छ ।
  बाराको परवानीपुरमा निर्माण भइरहेको ८ मेगावाट क्षमताको परवानीपुर सौर्य विद्युत आयोजना सञ्चालनको अन्तिम तयारीमा पुगेको हो ।
अपी पावर कम्पनी लिमिटेडको लगानीमा परवानीपुरस्थित नेपाल विद्युत् प्राधिकरणको ११ केभी सबस्टेसन नजिकै भलुही क्षेत्रमा निर्माण भइरहेको आयोजनाबाट अबको केही दिनमै विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको आयोजनाका व्यवस्थापक अस्लम देवानले जानकारी दिए ।
अपी पावर कम्पनी लिमिटेडले मधेश प्रदेशमा तीन वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा ल्याइसकेको छ भने चौँथो निर्माण गरिरहेको छ ।
परवानीपुरमा सञ्चालनको तयारीमा रहेको आठ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
औद्योगिक क्षेत्रमा भोल्टेज तथा विद्युत् आपूर्तिको अनियमितता सम्बोधन गर्ने उद्देश्यले १३ हजार ६ सयभन्दा बढी सोलार प्यानल जडान गरी आठ मेगावाट बिद्युत उत्पादन हुन लागेको हो ।
सञ्चालनपछि प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाउने छन । परियोजनाका लागि १३ बिघा जमीन भाडामा लिएर योजनाको काम अघि बढेको आयोजनाका व्यवस्थापक देवानको भनाइ छ ।
खेती नहुने जग्गामा सौर्य विद्युत् उत्पादनका लागि उपयोग गर्न सकिने क्षेत्रका रूपमा देखिएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा उद्योगको संख्या र विद्युतको माग निरन्तर बढि रहेका बेला थप ८ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनु महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
जलविद्युत् आयोजनाको उत्पादन वर्षायाममा बाढी, पहिरो तथा प्रसारण सम्बन्धी समस्याबाट प्रभावित हुँदा सौर्य ऊर्जा वैकल्पिक स्रोतका रूपमा उपयोगी बन्न सक्छ ।
औद्योगिक क्षेत्रमा सौर्य ऊर्जाको विस्तारसँगै सर्वोत्तम स्टिल्सका लागि सौर्य आयोजना पनि अघि बढिरहेको छ ।
विद्युत् विकास विभागको पछिल्लो विवरण अनुसार सर्वोत्तम स्टिल्ससँग सम्बन्धित ३३ मेगावाट क्षमताको आयोजनाका लागि छुट्टै ३३ केभी प्रसारण लाइनको सर्वेक्षणसमेत अघि बढेको छ ।
यसले बारा–पर्सा औद्योगिक करिडोरमा उद्योगसँगै सौर्य विद्युत् उत्पादनको आधार समेत विस्तार हुँदै गएको छ ।
तराई–मधेशको समथर भूभाग, पर्याप्त घाम र खुला जमिन र बिशेष गरी खेती नहुने जग्गामा सौर्य विद्युत् उत्पादनका लागि उपयोग गर्न सकिने क्षेत्रका रूपमा देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.