भदौ १ गतेदेखि खुल्ने सेवा अब के हुन्छ ?

सीसीएमसी सचिव भन्नुहुन्छ– ‘४–५ दिन मूल्यांकन गरेर निर्णय हुन्छ’

काठमाडौं– गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले ६ गतेदेखि लागू हुने गरी लकडाउन खुला गर्‍यो । झण्डै ५ महिनापछि लकडाउन खुला गरे पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण घटेन, बरु गत सातादेखि झन् वृद्धि हुन थालेको छ ।

कोरोना संक्रमण दर हुँदै जाने अनुमान साथ सरकारले भीडभाड हुने क्षेत्रलाई क्रमैसँग खोल्दै जाने घोषणा गरेको थियो । त्यही घोषणाअनुसार खुला भएको सवारीमा पुनः बुधबारदेखि जोरविजोर प्रणाली लगाइएको छ । साउन १५ गतेदेखि होटल, रेस्टुरेन्टमा गरिएको खुकुलोपनलाई पुनः कडाइ गरिएको छ ।

भदौ १ गतेदेखि खुला गर्ने भनिएका छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र र अन्तरजिल्ला सञ्चार हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवासायिक तथा अन्य उडानहरु, विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन तथा अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलहरुको भविष्य अन्यौलमा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले पनि भदौ १ गतेदेखि खुला गर्ने भनिएका क्षेत्रहरुबारे मापदण्ड बनाइरहेका छन् ।

तर, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भदौ १ गतेदेखि खुला गर्ने भनिएका क्षेत्रहरुबारे छलफल सुरु गरेको छ । ‘हामी पर्ख र हेरको अवस्थामा छौं,’ सीसीएमसीका सदस्य–सचिव महेन्द्रप्रसाद गुरागाईंले भन्नुभयो, ‘४–५ दिनको अवस्था हेरेर निर्णय हुन्छ । अहिले नै के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनौं ।’ उहाँले अहिलेसम्म पुरानै निर्णय यथावत् रहेको बताउँदै संक्रमण दर बढिरहेकाबेला अब सञ्चालन हुने सेवाबारे छलफल गर्न सीसीएमसीको बैठक बोलाइने जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवासायिक तथा अन्य उडानहरुबारे ठोस निर्णय लिन बिहीबार नै मन्त्रालयले बैठक बोलाएको जानकारी दिनुभएको छ । ‘हामी यस विषयमा आज निर्णय लिने अवस्थामा आएका छौं,’ उहाँले भन्नुभयो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्पादहरुसँगको अन्तर्क्रिया कार्यक्रममा पनि भदौ १ गतेदेखि सञ्चालन हुने भनिएका क्षेत्रहरुबारे सरकार पुनर्विचार गर्ने अवस्थामा आएको बताउनुभएको थियो ।

काठमाडौंमा दैनिक सयको संख्यामा संक्रमित थपिँदै जानु, प्रदेशका मन्त्री, सांसद, जनप्रतिनिधि र उच्चपदस्थ व्यक्तिहरु नै संक्रमणबाट पीडित भएकाले विज्ञहरुको सल्लाहमा सरकारले नयाँ रणनीति लिने तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि गर्नुभएको विज्ञहरुसहितको बैठकमा सहभागीहरुले पनि कर्फ्युसहितको लकडाउन लगाउनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.