कक्षा ११ को परीक्षा सम्बन्धी कुनैपनि कार्यहरु संचालन नगर्नू- राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यहरु संचालन नगर्न सम्बन्धित बिद्यालयहरुलाई निर्देशन दिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण नेपाल सरकारले विद्यालय संचालन गर्ने निर्णय गरिनसकेको अबस्थामा परीक्षासँग सम्बन्धित कुनैपनि काम अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।

‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

यसैबीच कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा उल्लेख भएका बुँदाहरुलाई समेत बेवास्ता गरेर वा नबुझेर केही विद्यालयले परीक्षा संचालन गर्न लागेको पाइएकोले यो निर्देशन दिनुपरेको राष्ट्रिय परीक्षा बोर्ड बाग्मती प्रदेश प्रमुख जयन्ती सत्यालले नेपाल टीभी अनलाइनलाई जानकारी दिनुभयो । प्रमुख सत्यालले विद्यालय खुलेपछि मात्र परीक्षाको बारेमा काम अघि बढ्ने बताउनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.