बाढी प्रभावित क्षेत्रमा मन्त्री गुरुङ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ ।

गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढि र पहिरोमा परी आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौं घर परिवार विस्थापित भएपछि उनीहरुलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं शनिबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुग्नु भएको हो ।

जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुग्नु भएका उहाँले बाढी, पहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिनु भएको थियो भने जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनु भएको थियो ।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आईतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिनु भयो । त्यस क्रममा मन्त्री गुरुङले जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा गएर बस्न पनि आग्रह गर्नु भएको थियो ।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीसहित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पत्रकारहरुलगायत सहभागी भएका थिए । बाढी र पहिरोमा परी कालिञ्चोक गाउँपालिका वडा नम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.