लिदीको बस्ती स्थानान्तरण गरिनेः गृहमन्त्री

सिन्धुपाल्चोक- गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताउनुभएको छ ।

पहिराग्रस्त क्षेत्रमा पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा बताउनुभएको हो । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताउनुभयो । सरकारको तर्फबाट उद्धार कार्यलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तिब्र बनाउने गृहमन्त्रीको भनाइ थियो ।

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुग्नुभएको थियो । उहाँले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निश्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुख व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बाँस बसेपनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उहाँले बताउनुभयो । उद्धार सकिएपछि वस्ती स्थानान्तरण गरी पीडितहरुका लागि उपयुुक्त स्थानमा वासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.