सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला सम्पन्न, हजारौँ भक्तजन सहभागी

डडेल्धुरा- सुदूरपश्चिमको उग्रतारा भगवती मेला सम्पन्न भएको छ । सोमवबार साँझदेखि सुरु भएको मेला मंगलबार बेलुकी सम्पन्न भएको हो ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाको दिन मेला लाग्छ। राति लाग्ने मेलालाई रतेडी र प्रतिपदाको दिन लाग्ने मेलालाई …दिउसेडी भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण -भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान देउरो आएपछि दिउसेडी मेला सुरु भएको थियो ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताउनु भयो ।

डडेलधुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिर अवस्थित छ । वर्षमा एक पटक लाग्ने मेलामा उग्रतारा माताको दर्शन गरेमा दैवीप्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने, शरीरको रक्षा गर्ने र परिवारले सुख पाउने जनविश्वास रहेको छ।

किंवदन्ती अनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र किसानले सोही स्थानमा मदिरको स्थापना गरेको बताइन्छ ।

सोही विश्वासमा त्यसबेलादेखि नै कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने यहाँका स्थानीयहरु बताउँछन् ।

सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथी तथा परिवारजनमा हुने भेटघाट र सुदूरपश्चिमको लोकप्रिय खाना माँडा यस मेलाको मुख्य आकर्षणको रुपमा रहन्छ । स्थानीय लोपोन्मुख वस्तुको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.