संक्रामक रोग ऐन कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई

काठमाडौं– सरकारले कोभिड १९ को जोखिम रोकथामका लागि हरेक मन्त्रालयबाट भएका निर्णयहरुलाई संक्रामक रोग ऐन, २०२० अनुसार जारी भएका आदेशका रुपमा व्याख्या गर्दै ती सबैको कार्यान्वयनको जिम्मा प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

मन्त्रपरिषदको सोमबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिनुभएको हो । कोभिड जोखिम नियन्त्रण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ ले दिएका अधिकारहरु प्रयोग गर्न पाउने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो । त्यस क्रममा प्रजिअले जिल्लाभर वा जिल्लाको कुनै भागमा मात्रै पनि निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार दिइएको उहाँले बताउनुभयो ।

त्यसैगरी सरकारले सिन्धुपाल्चोक र कालिकोट लगायत विभिन्न जिल्लामा बाढीपहिरोमा परे ज्यान गुमाएकाहरुका परिवारलाई प्रति मृतक २ लाख र एकै परिवारका एकभन्दा बढीको मृत्यु भएको भए जनही थप १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी बाढी पहिरोको जोखिममा भएका बस्तीहरुलाई सुरक्षित ठाउँमा सार्ने निर्णय पनि सरकारले गरेको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

सरकारले प्रेस काउन्सिल नेपालमा दुर्गा भण्डारी र दीपक पाण्डेलाई नियुक्त गरेको छ । साथै, प्रेस काउन्सिल कार्य व्यवस्था नियमावली संशोधन गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको ठाउँमा दुर्गा भण्डारीलाई नियुक्त गरेको सञ्चार मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.