जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत

जलवायु अनुकूलनका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय संयन्त्र निर्माण तथा बहुपक्षीय विश्व सहकार्यको प्रस्ताव आफैमा महत्वपूर्ण

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज भएको सम्बोधन जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत भएको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया रहेको छ ।

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि जलवायु सङ्कटको चेतावनीका रूपमा प्रस्तुत गर्र्नुले नेपालले भोगेको तत्कालको समस्या उजगार हुन सफल भएको उहाँहरुको भनाइ छ ।

प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको असरलाई ‘हिमाली सुनामी’ का रुपमा चिह्न थालिएको विषय पनि उठाउनुभएको थियो । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनासकारी बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको विषय महासभामा ‘इमिडियट रिफ्लेक्ट’ भएकाले समग्रमा प्रधानमन्त्री शाहको सम्बोधन सकारात्मक रहेको पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिज्ञहरूको टिप्पणी छ ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनको जोखिमका बारेमा प्रधानमन्त्री शाहले विश्व मञ्चमा उठाउनुभएको विषय सान्दर्भिक र प्रभावकारी भएको प्रतिक्रिया दिनुभयो । उहाँले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु परिर्वनका असरका बारेमा कुनै एक देशको प्रयत्नले मात्र सम्भव नहुने भएकाले सामूहिक प्रयासको आवश्यकताबारे प्रधानमन्त्री शाहले जोड दिएको विषय महत्वपूर्ण भएको बताउनुभयो ।

“हामी सरकामा हुँदा खासगरी म परराष्ट्रमन्त्री हुँदा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण भएको समयमा हामीले उहाँलाई जलवायुको प्रत्यक्ष असर देखिएका सगरमाथा र अन्नपूर्ण क्षेत्रमा अवलोकन गराएका थियौँ”, पूर्वमन्त्री साउदले भन्नुभयो, “महासचिव गुटेरेसले जलवायु परिवर्तनको विषय कुनै एक देशको मात्रै चासो र चिन्ता मात्र नभई विश्वको साझा सवाल भएको त्यसबेलै ध्यानाकर्षण गराउनुभएको थियो । ती सवालहरू आज झन् सन्दर्भिक देखिएका छन् । प्रधानमन्त्री शाहको सम्बोधनमा यसलाई थप बल पुगेको छ ।”

विश्व व्यवस्थामा गरिबी निवारण र शान्ति कायम गर्ने सन्दर्भमा राष्ट्र सङ्घको भूमिका अझ प्रभावकारी हुनुपर्ने उल्लेख हुनु पनि सकारात्मक भएको पूर्वमन्त्री साउदको भनाइ छ ।पूर्वमन्त्री साउदले सम्बोधनका अन्तिममा प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको ‘पशुपतिनाथले विश्वको रक्षा गरुन् र बुद्धको सन्देशमा विश्व हिँडोस्’ भन्ने सन्दर्भलाई मुलुकको सांस्कृतिक र आध्यात्मिक विषयसँग जोडेर सकारात्मकरुपमा हेर्न सकिने विचार व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख प्रा डा खड्गबहादुर केसीले प्रधानमन्त्री शाहले आज गर्नुभएको सम्बोधनले भोटेकोशी–त्रिशूली बाढी तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको सङ्कटलाई विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत भएको बताउनुभयो । प्रधानमन्त्री शाहले महासभामा नेपालमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै जलवायु न्याय, अन्तरराष्ट्रिय सहकार्य र विपद् प्रतिरोधी क्षमता निर्माणमा जोड दिनुभएको थियो । उहाँले नेपाल, भारत र चीनको नेतृत्वमा हिमाली जलवायु प्रतिरोधी संयन्त्र स्थापना गर्न प्रस्तावसमेत गर्नुभयो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसमेत रहनुभएका प्राडा केसीका अनुसार सम्बोधनमा भोटेकोशी बाढी र जलवायु परिवर्तनको मारमा नेपाल परेको विषयमा तत्कालीन अवस्थाको प्रत्यक्ष अनुभूति र मानक दृष्टिकोण विश्व समुदाय समक्ष प्रस्तुत भएको छ । जलवायु अनुकूलनका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय संयन्त्र निर्माण तथा बहुपक्षीय विश्व सहकार्यको प्रस्ताव आउनु महत्वपूर्ण रहेको उहाँको भनाइ छ । “आधारभूत तहका मानिसका लागि पनि विश्व व्यवस्था र प्रणाली परिचालित हुनुपर्छ भन्ने सन्देश पनि सम्बोधनमा आएको छ”, प्रा डा केसीले भन्नुभयो, “विश्व मञ्चमा नेपालको गहकिलो उपस्थिति भएको छ । बहुपक्षीयताप्रति हाम्रो पुरानै प्रतिबद्धता हो, त्यसलाई अझ गहकिलो प्रतिबद्धता व्यक्त भएको छ ।”

उहाँले प्रधानमन्त्री शाहको सम्बोधनले ‘साउथ र ग्लोबल नर्थ’बीचको सहकार्य तथा विकासशील र कमजोर मुलुकका आवाजलाई समेत विश्वमञ्चमा पुर्याएको बताउँदै जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकले भोग्नुमा ऐतिहासिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने धनी तथा विकसित मुलुकको जिम्मेवारीसमेत रहेको विषय सम्बोधनमा स्पष्ट रूपमा उठाइएको डा केसीको विश्लेषण छ ।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा जोखिम बढिरहेको, यसबाट हिमपहिरो, बाढी, पहिरोलगायतका विपद् बढ्नसक्ने र यसको असर सीमापारसम्म पर्ने उल्लेख गर्नुभएको थियो । उहाँले जलवायु वित्त, क्षति तथा नोक्सानीका लागि उपलब्ध कोष र अन्य वित्तीय संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यद्यपि, प्रधानमन्त्री शाहको सम्बोधनमा प्रयोग भएको ‘योङ नेसन्स’ भन्ने शब्दावली भने सान्दर्भिक नभएको प्राडा केसीले बताउनुभयो । “हामी त विश्वमै पुरानो सभ्यता भएको मुलुक हौैँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले संयुक्त महासभालाई सम्बोधन गर्दा आराध्यदेव पशुपतिनाथ र शान्तिका अग्रदूत बुद्धलाई स्मरण गर्नुले यसबाट विश्व शान्तिको सन्देश प्रवाह भएको पनि ठानिएको छ । परराष्ट्रविद् डा दिनेश भट्टराईले ‘ओभरअल’ हेर्दा सम्बोधन ठीकै रहेको र प्रस्तुत गर्नुपर्ने कुराहरू प्रस्तुत भएको बताउँदै केही अवधारणामा थप स्पष्ट पारिएको भए अझ राम्रो हुन्थ्यो भन्नुभयो ।

समग्रमा नेपालको समसामयिक ‘इस्यु’हरू सान्दर्भिक रूपमा उठाउनुभएको र ‘हिमालयन रेजिलियन्स मेकानिजम’ का लागि नेपाल, भारत र चीनको नेतृत्वको प्रस्ताव हुनु सकारात्मक रहेको डा भट्टराईको भनाइ छ । यसलाई अलिकति थप स्पष्ट पारिदिनुभएको भए अझ राम्रो हुने उहाँको धारणा छ । डा भट्टराईले जलवायुको कुरा राम्रोसँग आएको उल्लेख गर्दै भन्नुभयो । किसानको खेतमा मल पुग्दैन, तर मिसाइलहरू चाहिँ विश्वमा द्रुत गतिमा पुगिरहेका हुन्छन्’ भन्ने उदाहरण प्रभावकारी छ । त्यसैमार्फत जलवायु न्यायका लागि प्रक्रियागत नभई सरलीकरण हुनुपर्छ भन्ने कुरालाई राम्रोसँग उठाइएको उहाँको विचार छ ।

“हामीले निरन्तर विगतलाई हेर्नुपरेको छ, विगतका समस्याहरूलाई सम्बोधन गर्नुपरेको छ र त्यसै कारण भविष्यतर्फ त्यति हेर्न पाएका छैनौँ भन्ने प्रश्न पनि राम्रोसँग उठाउनुभएको छ”, डा भट्टराईले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालमा गरेको सम्बोधनका कुराहरू स्मरण गराउनुभएको छ । त्यो राम्रो प्रयास हो । ‘हिमालयन सुनामी’ भन्ने कुरा पनि ठीकै छ ।” उहाँले दिगो विकास लक्ष्यतर्फ सबैलाई अगाडि बढाइरहेको छ भन्ने सन्दर्भ पनि सम्बोधनमा आएको उल्लेख गर्दै भविष्यका विषयमा पनि हाम्रो तर्फबाट उठाउनुपर्ने अधिकांश समसामयिक विषयहरू समेटिएका छन् भन्नुभयो ।

यसअघि प्रधानमन्त्रीको पराराष्ट्र सल्लाहकार रहिसक्नुभएका डा भट्टराईले विशेषगरी जलवायुको विषयमा यसले ‘मोमेन्टम गेन’ गर्न सके राम्रो हुने र संयुक्त राष्ट्रसङ्घमा कुरा राख्नु नै अन्तरराष्ट्रिय समुदायलाई आफ्नो कुरा सुनाउने अवसर भएको बताउनुभयो । उहाँले सबैको राष्ट्रियता आवश्यक छ, नियममा आधारित अन्तरराष्ट्रिय प्रणाली आवश्यक छ र सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने कुरा पनि उठाइनु महत्वपूर्ण भएको बताउनुभयो ।

सम्बोधनका अन्तिममा प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको ‘पशुपतिनाथले विश्वको रक्षा गरुन् र बुद्धको सन्देशमा विश्व हिँडोस्’ भन्ने सन्दर्भलाई डा भट्टराईले निकै आकर्षक भनी प्रशंसा गर्नुभयो । डा भट्टराईले पनि ‘योङ नेसन’ भन्नुभएको सम्बन्धमा जनसङ्ख्याको आकार र अहिलेको युवा सरकारलाई आधार बनाएर ‘यङ नेसन’ भन्नुभएको हुनसक्ने टिप्पणी गर्नुभयो ।

यसैगरी, प्रधानमन्त्रीको सम्बोधनबारे प्रतिक्रिया दिँदै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ भारती सिलवालले सम्बोधन अन्त्यन्त प्रभावशाली रहेको टिप्पणी गर्नुभयो । “यो विश्वका लागि एउटा गम्भीर चेतावनीको घण्टी हो—यस्तो विश्वका लागि, जुन युद्धमा अल्झिएको छ, जसले वातावरणको विनाशलाई अझ बढाइरहेको छ र शान्तिको कुनै वास्ता नगरी टुक्राटुक्रा गर्दै भू–भाग कब्जा गर्ने प्रवृत्तिलाई प्रश्रय दिइरहेको छ”, भन्ने प्रधानमन्त्री शाहको सन्देश निकै चोटिलो रहेको सिलवालले बताउनुभयो ।

उहाँले “म आशा गर्छु, विश्व मञ्चका नेताहरूले केवल सुन्ने मात्र होइन, मनन् गरी त्यसबाट पाठ सिक्ने र आवश्यक कदम चाल्ने तथा पर्यावरणले कुनै भौगोलिक वा राजनीतिक सीमा चिन्दैन । जब यति भयावह र विशाल प्रकृतिका विपद्हरू आइपर्छन्, त्यसको असर नेपालमा मात्र सीमित हुँदैन–सम्पूर्ण मानवतामाथि पर्छ ।” जस्ता वाक्यहरुले विश्व समुदायलाई नेपालको ध्यान खिच्न समर्थ रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.