यसपालि छैन तीजको रमझम

काठमाडौं- स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे ।

गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक सङ्घसंस्था, महिलाका सङ्गठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ । दुई दिनअघिसम्म तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना सङ्क्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् ।

तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा आयोजना हुने ऐतिहासिक तीज मेला यसपालि नहुने आयोजकले जनाएको छ ।

सोही ठाउँमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा पनि भीडभाड नहुने गरी पूजापाठको व्यवस्था मिलाइने भएको छ । विगतको शसत्र द्वन्द्वका बेला केही वर्ष रोकिएको नाच्ने डाँडाको तीज मेला अहिले भने कोरोनाको मारमा पर्‍यो ।

बरेङ गाउँपालिकामा लाग्दै आएको जिल्लाको दक्षिण भेगकै ठूलो तीज मेला पनि यो वर्ष स्थगन भयो । सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तीज मेला गर्न नसकिएको आयोजक ग्रामीण जनसहभागिता विकास केन्द्रले जनाएको छ ।

केन्द्रले तीज मेलाका अवसरमा विविध खेलकुद प्रतियोगितासहित सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गथ्र्यो । बागलुङ नगरपालिकाको रुद्रेपिपल, मालिका काठेखोला गाउँपालिकाको रेशलगायतका ठाउँमा आयोजना गरिने तीज मेला पनि यो वर्ष भएनन् ।

गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो । तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको व्यवसायी बताउँछन् । बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ ।

सौन्दर्य व्यवसायी सावित्री पुनले कोरोनाले गर्दा माइत जान नपाएको प्रतिक्रिया दिनुभयो । “गएपनि उतै रोकिनुपर्छ कि भन्ने डर छ, अब त गाडी, बजार सबै बन्द हुने भएपछि जाने कुरै भएन”, उहाँले भन्नुभयो, “यो वर्ष कोठामै बसेर तीज जाने भयो ।”

कोरोना सङ्क्रमणको जोखिम बढेपछि मङ्गलबारदेखि एक सातासम्मलाई बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ । चाडबाडमा हुने भीडभाड र आवातजावतले कोरोना सङ्क्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ । निषेधाज्ञा जारी गर्ने बागलुङ नगरपालिकाको सिफारिसलाई जिल्ला कमाण्ड पोष्टले सहमति दिएको हो ।

यसअघि वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि ७ गतेसम्मलाई ‘सिल’ गरिएको छ । यो वर्षको हरितालिका तीज बुधबार छ । अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् । भगवान् शिवको आरधाना गर्छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.