जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति गहिरो निराशा व्यक्त गर्नुभएको छ ।
आइतबार जारी वक्तव्यमा महासचिव गुटेरेसले जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको उल्लेख गर्नुभएको छ ।
उहाँले जलवायु सङ्कटले माग गरेको गम्भीरतालाई आत्मसात् गर्दै सरकारहरूले आवश्यक कदम चाल्ने अपेक्षा गरेका सबैको निराशाप्रति आफू सहमत रहेको बताउनुभएको छ ।

सम्मेलनका अध्यक्ष मुरात कुरुमले आइतबार आयोजित समापन सत्रमा प्रस्तावित अन्ताल्या सम्झौतामा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको जानकारी गराउनुभएको थियो । यसअघि शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलन निर्धारित समयभन्दा करिब दुई दिन ढिलोसम्म सञ्चालन भए पनि सहमति जुट्न सकेको थिएन । आइतबार सम्झौताको तेस्रो मस्यौदासमेत सार्वजनिक गरिएको थियो ।
महासचिव गुटेरेसले सम्मेलनमा सहमति कायम हुन नसके पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यहरूमा कुनै अस्पष्टता नरहेको स्पष्ट पार्नुभएको छ ।
उहाँका अनुसार विश्वको तापक्रमले निरन्तर नयाँ कीर्तिमान कायम गरिरहेको, जलवायुजन्य चरम घटनाहरू तीव्र बन्दै गएको र हरितगृह ग्यासको उत्सर्जन अझै उच्च रहेको छ । जलवायु सङ्कट सम्बोधनमा हुने प्रत्येक ढिलाइले आगामी चुनौतीलाई थप जटिल र खर्चिलो बनाउने उहाँको भनाइ छ ।
विश्व तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्न कठिन हुँदै गएको उल्लेख गर्दै उहाँले तापक्रम वृद्धिको निर्धारित सीमा नाघ्ने अवस्था सम्भव भएसम्म छोटो र न्यून राख्ने अवसर तीव्र रूपमा साँघुरिँदै गएको चेतावनी दिनुभएको छ ।

महासचिव गुटेरेसले जलवायु सङ्कटको सामना गर्न विश्व समुदायले अझ प्रभावकारी र तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले जलवायु सङ्कटको प्रमुख कारकका रूपमा रहेको जीवाश्म इन्धनमाथिको निर्भरता क्रमशः अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कोइला, तेल र ग्यासको निरन्तर प्रयोगले जलवायु अस्थिरता बढाउनुका साथै अर्थतन्त्रलाई मूल्यवृद्धिको जोखिममा पारिरहेको र ऊर्जा सुरक्षामा समेत चुनौती थपिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
जीवाश्म इन्धनसँग सम्बन्धित शक्तिशाली व्यावसायिक स्वार्थ समूहहरूले वैज्ञानिक तथ्यलाई प्रभावित पार्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने तथा जलवायु संरक्षणका प्रयासमा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत उहाँले लगाउनुभएको छ ।
दुबईमा सम्पन्न २८औँ जलवायु सम्मेलनमा सबै देशले न्यायोचित, व्यवस्थित र समतामूलक ढङ्गले जीवाश्म इन्धनको प्रयोगबाट क्रमशः बाहिरिने सहमति गरेको स्मरण गराउँदै उहाँले उक्त प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

१.५ डिग्री सेल्सियसको तापक्रम सीमा नाघ्ने अवस्थाको अवधि र प्रभाव न्यूनीकरण गर्न यसै दशकभित्र हरितगृह ग्यास उत्सर्जनमा तीव्र तथा उल्लेखनीय कटौती गर्नुपर्ने उहाँको धारणा छ । यसका लागि प्रमुख उत्सर्जक राष्ट्रहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, विकसित देशहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने र सबै राष्ट्रले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
त्यसैगरी, विकसित मुलुकहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग तीन गुणा वृद्धि गर्ने प्रतिबद्धता पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । जलवायु सङ्कट सिर्जना गर्न न्यून योगदान रहेका विकासशील तथा कमजोर राष्ट्रहरूले यसको गम्भीर परिणाम एक्लै भोग्नुपर्ने अवस्था आउन नहुने उल्लेख गर्दै उहाँले यसलाई जलवायु न्यायको महत्त्वपूर्ण विषयका रूपमा प्रस्तुत गर्नुभएको छ ।
महासचिव गुटेरेसका अनुसार जलवायु संरक्षणका वास्तविक उपलब्धि सम्मेलनका छलफल र प्रतिबद्धतामा मात्र सीमित नभई तिनको व्यावहारिक कार्यान्वयनबाट मापन हुनुपर्छ । जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने, विद्युत् प्रसारण प्रणालीको विकास तथा आधुनिकीकरण गर्ने, मिथेन उत्सर्जन न्यूनीकरण गर्ने, वन क्षेत्रको पुनस्र्थापना गर्ने र विकासशील मुलुकसम्म जलवायु वित्तको पहुँच सुनिश्चित गर्ने कार्यलाई उहाँले महत्त्वपूर्ण उपलब्धिका रूपमा औँल्याउनुभएको छ ।

उहाँले नागरिक समाज, युवा पुस्ता, आदिवासी समुदाय, वैज्ञानिक तथा जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका समुदायलाई जलवायु संरक्षणका प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।
जलवायु सङ्कटले सरकारहरूबीच सहमति कायम हुने प्रतीक्षा नगर्ने उल्लेख गर्दै महासचिव गुटेरेसले वैज्ञानिक तथ्यको प्रचारप्रसार, सरकार तथा निजी क्षेत्रको जवाफदेहिता र जलवायु न्यायका पक्षमा निरन्तर आवाज उठाउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.