नेपाली किशोरले जिते वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि
काठमाडौं– नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेका छन् ।
डेनमार्कको कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन् । एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रुपमा चर्चित छ । उनले ७ खेल खेलेका थिए । शास्वतले तीन खेलमा ३ पाना (नकआउट) गराएका थिए भने बाँकी ४ खेल गोलअन्तरले जितेका थिए । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो ।
वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा उनी तेस्रो भएका थिए ।
डेनिस सुपरलिग खेल्दै आएको ए डिभिजनको लिङ्बी ब्लोड क्लबका फुटबल खेलाडी शाश्वतले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए । २००७ मा कोपनहेगनमा जन्मिएका शाश्वत बुवा विवेक राना र आमा सुशीला हमालसहित कोपनहेगनमै बस्छन् ।
प्रतिक्रिया राख्नुहोस्