क्यानद्वारा खेलाडीसहित ५१ को कोरोना बीमा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेको हो ।

क्यानले विज्ञप्तिमार्फत कोरोना बीमा गरिएको जनाएको हो । दुई साताअघि क्यानले खेलाडी, खेल मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको बीमा गर्ने निर्णय गरेको थियो । कोरोना महामारीलाई ध्यानमा राख्दै बीमा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । क्यानले वार्षिक अुनबन्ध गरेका २२ तथा अन्य तीन खेलाडीको बीमा गरेको हो ।

क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको रु एक लाख बराबरको कोराना बीमा गरेको हो । महिला क्रिकेट खेलाडीको कोरोना बीमाबारेसमेत क्यानले योजना बनाइरहेको छ ।

यसैबीच क्यानले केही समय अघि क्रिकेट खेलाडीको डेढ वर्षदेखि रोकिएको पारिश्रमिक उपलब्ध गराउनका लागि अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पत्र पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको सूची पठाएको हो । लामो समयदेखि रोकिएको पारिश्रमिक खेलाडीले चाँडै पाउने क्यानले जनाएको छ । पारिश्रमिकका लागि क्यानले तीन श्रेणीमा खेलाडी विभाजन गरी सूची आईसीसीलाई पठाएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.