कालीमाटी तरकारी बजारमा बढ्दो जोखिम
काठमाडौं- कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।
व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन ।
काठमाडौँ महानगरको कृषि विभागको अगुवाइमा आज बिहान अनुगमन टोली त्यहाँ पुग्दा अवस्था सामान्य बेला जस्तै थियो ।
हरेक दिन काठमाडौँ उपत्यका र अझै बढी काठमाडौँ जिल्लामा भाइरसका बिरामी बढ्दोरुपमा थमिने क्रम जारी रहेको छ । दैनिक औसतमा ५०० मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।
आफ्नो नजिकको बजारमाभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ ।
कोभिड महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि आयात घटेर मूल्य बढेको भन्दै महानगरमा गुनासो आएपछि कामपाले अनुगमन शुरु गरेको हो । अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए-नभएको अवलोकन गरिएको थियो । त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो ।
कालीमाटी बजार विकास समितिले यही भदौ ७ गते विकास समितिले दुईपाङ्ग्रे सवारीसाधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदूरलाई समूहमा बस्न निरुत्साह गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो ।-






प्रतिक्रिया राख्नुहोस्