पुर्ननिर्माणको अनुगमन गर्न मन्त्री र मेयर रानीपोखरी परिसरमा
रानीपोखरी पुर्ननिर्माणको काम ८५ प्रतिशत सम्पन्न

काठमाडौं- रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ ।
रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो । ‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएको छ,’ समितिका अध्यक्ष अजय स्थापितले मन्त्री र मेयरलाई जानकारी दिदै भन्नुभयो, ‘लकडाउनको अवधीमा पनि हामीले पुर्ननिर्माणको कामलाई निरन्तरता दिएका छौँ । सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’
स्थापितले सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौँ महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको जानकारी दिनुभयो । ‘उहाँहरुसँग समन्वय गर्दै समितिले पुर्ननिर्माणको काम सम्पन्न गर्ने चरणमा पुर्याएको छ । यो खुशीको कुरा हो,’ स्थापितले भन्नुभयो, ‘सबैको एकमुष्ठ सहयोगकै कारण रानीपोखरी पुननिर्माण सम्पन्न हुने अवस्थासम्म आएको छ । अब हामी कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा छौँ ।’ उहाँले काठमाडौँ महानगरपालिकाको पहलमा उपभोक्ता समिति गठन गरेर कामलाई सहज रुपमा अघि बढाउन सहयोग गरेको भन्दै धन्यवाद पनि दिनुभयो ।
मेयरसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुग्नुभएका राज्यमन्त्री मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुर्ननिर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्