कोरोना सङ्क्रमण बढेपछि यस्तो छ भक्तपुरको तयारी, एकै दिन ५१ जना सङ्क्रमित

भक्तपुर- जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ ।

जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ-आफ्नो योजना अगाडि सारेका छन् ।

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने बारेमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, नगरपालिका र सुरक्षा निकायसँग छलफल गरी कार्य योजना अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुरमा कम्तीमा दुई हजार क्वारेन्टिन बनाइने गरी तयारी गरिएको छ, भोलिसम्ममा सानोठिमी र बोडेमा श्यया तयार हुन्छ, कोरोना परीक्षणको दायरा फराकिलो गर्दै पिसीआर परीक्षण बढाउने र उपचारको व्यवस्था सहज गराउने बारेमा नगरपालिकाहरु सहमत भएका छन् ।”

सङ्घीय सरकारसँग मिलेर जिल्लाका प्रत्येक नगरपालिकामा न्यूनतम दुई हजार व्यक्तिका दरले भक्तपुरको चार नगरपालिकामा आठ हजारको पिसीआर परीक्षण गर्नेे तथा नगरपालिका, स्वास्थ्य संस्था, रेडक्रस, सुरक्षाका तीनवटै निकायलाई परिचालन गरी क्वारेन्टिन, आइसोलेसन र एम्बुलेन्सको व्यवस्थापन गर्ने गरी योजना बनाएको उहाँले बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्देशनानुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन तयार पारेर लक्षण नभएका बिरामी राख्न थालिसकेको जानकारी दिनुभयो । त्यस स्थानमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सानोठिमीस्थित सिटिइभिटीको टिआइटिआई र युसेपको होस्टेल भवन तथा बोडेस्थित कृषि विकास बैंकको होस्टेल भवनमा २०० श्ययाको एकीकृत क्वारेन्टिन निर्माण कार्य भोलि सम्ममा सम्पन्न गरिसक्ने प्रजिअ पाण्डेको भनाइ छ ।

नेपाली सेना वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले खरिपाटीस्थित आइसोलेसनदेखि एकीकृत क्वारेन्टिनसम्ममा सुरक्षाका व्यवस्था सेनाले गर्ने जानकारी दिँदै आइसोलेसनलगायत अन्य व्यवस्थापनमा पनि सेना खटिएको जानकारी दिनुभयो ।

नगरपालिकाहरुको यस्तो छ तयारी

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको जनाएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म मध्यपुरथिमि नगरपालिकाका तीन हजार ५०० स्थानीयवासीको पिसीआर परीक्षण गरिसकेका छौँ, आगामी १४ गतेभित्र थप दुई हजार स्थानीयवासीको पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन तीव्र पारेका छौँ ।”

उहाँले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना सङ्क्रमितका परिवार र उनीहरुको कन्ट्याक टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षण तीव्र पारेको जानकारी दिनुभयो ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ल्याबमा स्वाब सङ्कलन गरेपछि २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको जानकारी दिँदै उहाँले त्यस अवधिमा नगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने गरेको बताउनुभयो ।

यता भक्तपुर नगरपालिकाले यस वर्षको इन्द्रजात्रा पर्वमा गरिने कार्यक्रमहरु स्थगित गरेको, विदेशबाट आउनेहरुका लागि क्वारेन्टिनको व्यवस्था भएको, स्थानीयवासीलाई होम क्वारेन्टिनमै राखेको, सङ्क्रमितलाई भक्तपुर अस्पताल पठाउने गरिएको र एकीकृत आइसोलेसनमा पनि पठाउने तयारी भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

यता चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगरपालिकाले दुई मुख्य र ६ वटा सहायक समूह बनाएर विदेशबाट फर्किएका, विभिन्न जिल्लाबाट फर्किएकाको अनुसन्धान गर्ने, सङ्क्रमितको सम्पर्कमा रहेकाका कन्ट्याक ट्रेसिङ गर्ने, सङ्क्रमितसँग टेलिफोन र अन्य माध्यमबाट सम्पर्कमा रहने तथा जनचेतना फैलाउने कार्य गरिरहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले स्वास्थ्य संयन्त्र बनाएर जोखिममा रहेका प्रत्येक वडाको टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने, कोभिडबारे जानकारी दिने कार्य गरेको छ । कोरोना जोखिम भएका जिल्लाबाट आएकाको फोन ट्रेसिङ गरी व्यक्ति पत्ता लगाउने, उनीहरुको पिसीआर परीक्षण गर्ने, जोखिम रहेका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली जानकारी दिनुभयो ।

स्वास्थ्य टोली र जनप्रतिनिधि लिएर आफैँ टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने र जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै उहाँले पूर्वमन्त्री तथा सांसद महेश बस्नेत, नगरपालिकाका प्रमुख बासुदेव थापा, वडाध्यक्षहरु र नगरपालिकाका स्वास्थ्य टोली स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ टोलीहरुका बीचमा छलफल गरी विशेष तयारी गरिएको उहाँको भनाइ छ ।

नगरपालिकामा ७० जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै सङ्क्रमण फैलिन नदिन विशेष अभियान थालेको बताउनुभयो । भक्तपुरमा आज एकै दिन ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजसम्म भक्तपुरमा सङ्क्रमितको सङ्ख्या ४२९ जना पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.