कोभिडले रोकिएको रासायनिक मल आयात सुरु

काठमाडौं– कोभिड १९ का कारण बाटैमा रोकिएको रासायनिक मलको आयात सुरु भएको छ । लामो समयपछि आयात हुदाँ मल लिन आउनेहरुको भने घुइँचो लाग्ने गरेको छ । तर कृषि मन्त्रालयले भने आवाश्वक पर्ने मल आयात गर्ने भएकोले नहतारिन कृषकलाई आग्रह गरेको छ ।

नेपालमा प्रमुख खाद्यान्न बालीका लागि लक्ष्यित गरी विदेशबाट झिकाइएको रसायनिक मल बल्ल आइपुगेको छ। कोभिड १९ का कारण सिर्जित असहज परिस्थितिले गर्दा आयातको प्रक्रिया पूरा गरेपछि पनि लामो समयसम्म मल आउन सकेको थिएन। किसानहरूले वाली लगाउने बेलामा रासायनिक मल नपाउँदा मल विना नै मकै र धान लगाउनु परेको थियो । अहिले भने भारतीय नाका हुदै नेपालमा करिब ९ हजार मेट्रिकटन मल आयात भइसकेको छ भने बाँकी मल पनि आउने क्रममा रहेको बताइएको छ । कृषि तथा पशुपंछी मन्त्रालयले मल आयात हुनासाथ करिब २० जिल्लामा मलको वितरण सुरु भइसकेको जनाएको छ ।

खाद्यन्न बालीलाई विभिन्न रोगबाट बचाउन तथा उत्पादन बढाउनका लागि डीएपी, पोटास र यूरिया मल प्रयोग गर्ने गरिन्छ । नेपालमा वार्षिक ८ लाख मेट्रीकटन रसायनिक मलको माग हुने गरेको छ । जसका लागि सरकारले यस बर्ष मात्र ११ अर्ब रूपैयाँ विनियोजन गरेको छ । कोभिडका कारण मात्र आयातमा ढिलो भएको बताउदै कृषकको माग अनुसारको मल आयात गरिने मन्त्रालयको भनाइ छ ।

नेपालमा चीन, यूएई, रसिया, बेलारुस लगाएतका मुलुकबाट मल आयात हुने गरेको छ । सरकारले महंगो दरमा मल किनेपनि कृषकले भने सहुलियत दरमा मल किन्न पाउने भएपनि ढुवानी भाडाका कारण स्थान अनुसार रसायनिक मलको मूल्य फरक पर्ने गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.