वीर अस्पतालका ७१ चिकित्सक र स्वास्थ्यकर्मीमा कसरी फैलियो कोरोना ? (भिडियोसहित)

काठमाडौं– कोरोना भाइरसको संक्रमण स्वास्थ्यकर्मीहरुमा पनि फैलिँदै गएको छ । मुलुककै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी गरी ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बिरामीले उपचार पाउने ठाउँमै संक्रमण फैलिएपछि वीर अस्पतालले दुई दिनका लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिनुभयो । ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले आफ्ना धेरैजसो चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखेको छ । कतिपयलाई घर तथा होटलहरुमा राखेको छ । संक्रमितको सम्पर्कमा रहेकाहरुलाई होटलको क्वारेन्टिनमा राखिएको छ ।

वीर अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि चाहिने पीपीईलगायतका सामग्री पर्याप्त नहुँदा जोखिम बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले केही पीपीई उपलब्ध गराइरहेको भए पनि पर्याप्त नभएको र खरिद गर्न चाहेर पनि नसकिएको अस्पतालको भनाइ छ ।

हुन त अस्पतालले कोरोना संक्रमण नफैलियोस् भनेर सुरुदेखि नै सावधानी अपनाउँदै आएको थियो । उपचारका लागि आउनेहरुलाई भौतिक दुरी कायम गर्ने व्यवस्था मिलाइएको थियो । योसँगै ठाउँठाउँमा हातधुने र सेनिटाइजर लगाउने ठाउँको व्यवस्थासमेत गरिएको थियो ।

वीर अस्पतालले एकै स्थानबाट धेरै सेवा प्रवाह गर्नुपर्ने भएका कारण थोरै सेवाग्राही आउँदा पनि भिडभाड हुने गरेको छ । त्यसो त अस्पतालमा ठाउँ साँघुरो भएका कारण कतिपय कुरा चाहेर पनि गर्न नसकिएको जनाएको छ । आगामी दिनमा सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रयास भने जारी राख्ने प्रतिबद्धता अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.