पासोमा परेर मृत्यु

नवलपरासी- बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा एकको मृत्यु भएको छ । घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका–१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो ।

शुक्रबार राती घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनीया यादवले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो ।

खोजतलासको क्रममा मृत्तक यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र यादवको मृत्यु भएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

फरारमध्ये दुई जनालाई प्रहरीले गए राती रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका सोही गाउँका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परी मृत्यु भएपछि घटनास्थलभन्दा केही पर कुलोमा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए ।

प्रहरीका अनुसार शुक्रबार राती उनीहरु पाँचै जनाले पासो थापेर घर गएको र बँदेल परेपछि खबर गर्ने जिम्मा पनि यादवकै थियो । अबेरसम्म पनि यादवले जानकारी नदिएपछि पासो थापेको ठाउँमा आफूहरु पुग्दा यादव मृत्त फेला परेपछि खाल्डो खनेर पुरेको पक्राउ परेकाहरुले बताएको डिएसपी लामाले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.