नेपाललाई यस आर्थिक वर्षभित्रै सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको भनाइ
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम थालिएको जानकारी दिनुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ – ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ ।
बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ ।
बालबालिकाको शारीरिक, मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षाको अधिकार, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने यस सरकारको नीति रहेको पनि सन्देशमा उल्लख छ ।
स्वस्थ्य रहन पाउने तथा उपचारको अधिकार, शारीरिक मानसिक दुर्बलता भएका बालबालिका समेतको भेदभाव बिरुद्धको समानता र समन्यायको अधिकार रक्षा, शारीरिक र मानसिक विकासका लागि खेलकूद र मनोरञ्जनको अधिकारजस्ता बालअधिकार र बाल अधिकारसँग सम्बन्धित सम्पूर्ण अधिकारहरुको प्रत्याभूति अहिलेको सरकारका प्रतिवद्धता उहाँले दोहोर्याउनु भएको छ ।
राष्ट्रिय बाल दिवसको यस अवसरमा प्यारा भइबहिनीहरुमा पनि म विशेष आह्वान गर्दछु– तपाईंहरु देशको सुदूर भविष्य हुनुहुन्छ । यसअघिको पुस्ताले लामो संघर्ष गरेर देशमा रहेको निरंकुश शासन हटाई जनतालाई नै सार्वभौमसत्ता सम्पन्न बनायो ।तपाईंहरुको पुस्तालाई कस्तो देश चाहिन्छ, त्यस अनुरुपका परिकल्पना र कामको थालनी अहिलेको सरकारले गरिरहेको छ । देशभित्र रहेका विकृति, पछौंटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र हाम्रा पूर्खाले कल्पना गरे अनुरुप ‘सर्वे भवन्तु सुखीनः’ (सबै सुखी होउन्)को गन्तब्यमा पु¥याउन हामी अग्रसर छौं । हामीले सामाजिक न्याय र समनता सहितको विकासलाई राष्ट्रको आकाङ्क्षा बनाएका छौं ।समृद्ध नेपाल सुखी नेपालीको यस आकाङ्क्षा मानव जातिको आकाङ्क्षा हो, हाम्रो देशको आकाङ्क्षा हो । र, यो तपाईंहरुको भविष्य हो । यसको सफलता तपाईंहरुको जीवनको सफलतासँग गाँसिएको छ ।तपाईंहरुले आजको समयलाई सही सदुपयोग गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नु पर्छ । नकारात्मक र हानीकरक विचार, प्रबृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनु पर्छ । आउँदो पिंढीको सुन्दर भविष्य निर्माण गर्ने यस अभियानमा तपाईंहरुको सचेत सहभागिता रहने छ भन्ने मेरो विश्वास छ ।-प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री ओलीले संसार नै अहिले कोभिड–१९ को महामारीबाट आक्रान्त रहेको र हाम्रा बालबालिकाको जीवन र पठनपाठनमा यसले गम्भीर असर पारेको उहाँले उल्लेख गर्नुभएको छ । संकटको यस घडीमा विद्यमान प्रणालीमा परेको नकरात्मक प्रभावलाई नयाँ सम्भावनाको द्वारसम्म पुर्याउने गरी बालबालिकाका अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज सबैमा उहाँले आह्वान गर्नुभएको छ ।।








प्रतिक्रिया राख्नुहोस्