क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता
चितवन- नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।
पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन ।
यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् ।
पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले राससलाई जानकारी दिनुभयो ।
यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन् । अध्यक्ष चन्दले भन्नुभयो, “पहिलोपटक हामीले महिला खेलाडीको पनि सम्झौता गरेका छौँ, यो सुखद शुरुआत हो ।” यसअघि पुरुष खेलाडीले सन् २०१९ मा रु ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन् ।
क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो ।
नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ । सन् २०१७ र २०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो । क्यानले उहाँलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो ।-
प्रतिक्रिया राख्नुहोस्