चहलपहल ह्‍वात्तै बढ्दा हालसम्म सुरक्षित ताप्लेजुङमा जोखिम बढ्यो

ताप्लेजुङ- हरेक दिन कोभिड-१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । हिजोसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड-१९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन ।

सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको छ भने बजार क्षेत्रमा हिडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन् । यस्तै सामाजिक दूरीसमेत कार्यान्वयन हुन सकेको छैन ।

दैनिक ताप्लेजुङबाट बाहिरिनेभन्दा अन्य जिल्लाबाट भित्रनेको सङ्ख्या बढिरहेका बेला जोखिम बढ्दै गएको भन्दै केहीले चिन्ता व्यक्त गरेका तर अधिकांश मानिस स्वास्थ्य सतर्कता विना नै हिडडुल गरिरहेका छन् । सर्वसाधरणले मात्रै होईन केही सामाजिक दायित्व र जिम्मेवारीमा रहेका मानिसले समेत कोरोना केही होईन, के को मास्क र नो स्यानिटाईजर भन्ने गरेका छन् । यता केही दिन अघिसम्म सरकारी तथा गैरसकारी कार्यालयले कार्यालय परिसरमा साबुन पानी राख्ने गरे पनि अहिले छाडिएको छ ।

चाडबाड नजिकिएकाले र स्कुल कलेजसमेत बन्द नै रहेकाले राजधानीसहित तराईका क्षेत्रमा रहेका युवा विद्यार्थी घर फर्किन थालेका छन् । सङ्क्रमण फैलिएका क्षेत्रबाट फटाफट मानिसहरु आउन थालेपछि थप जोखिम बढेको तर जोखिम व्यवस्थापनमा स्थानीय सरोकारवालाले समेत गम्भीरता नदेखाएको स्थानीयको आरोप समेत छ ।

स्वास्थ्य मन्त्रालयले दुई मिटरसम्म दूरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, साबुन पानीले बेलाबेलामा हात धुने भनेर सुझाई रहेका बेला झनझन अटेर गर्नेको सङ्ख्या बढ्दै गएकोमा कतिपयले चिन्ता व्यक्त गर्न थालेका हुन् । सर्वसाधरणले मात्रै नभई राजनीतिक दलका नेता कार्यकर्ताले समेत अटेर गरेको पाईएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.