३ दिनदेखि अबरुद्द सडक सुचारु नहुँदा यात्रुलाई सास्ती
पाल्पा- सिदार्थ राजमार्गको पाल्पा- बुटवल सडकखण्ड अन्तरगत दर्जनभन्दा बढी स्थानमा शुक्रबार राति वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास जारी भएपनि बिच सडकमा अलपत्र यात्रुलाई यतिखेर खान बस्नका लागि समस्या परेको छ । यात्रुहरु लामो समयसम्म एकैस्थानमा भीडभाड गरेर बसेकै कारण कोरोना भाइरस र अन्य रोगको संक्रमणको जोखिम समेत बढेको उनीहरु बताउँछन ।
राजमार्गमा पर्ने तिनाउ गाउँपालिका वडा नं. ३ को कालिमाटी, कदमबास, सिद्धबाबा, नागमन्दिर, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानी मिल लगायतका स्थानमा ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोले आधा दर्जनबढी घरहरु उच्च जोखिममा परेका छन् ।
सडक डिभिजन पाल्पाको सहयोगमा पहिरो पन्छाउने कार्य भएपनि पहिरो धेरै स्थानमा गएको र ठूला-ठूला पहिरो खसेको हुँदा सडक खुलाउन आज पनि दिनभर लाग्नसक्ने प्रहरीले जनाएको छ ।
सवारी आवागमन हुन नसकेपछि अत्यावश्यक काम परेका यात्रुलाई दुई पाँग्रे सवारीमार्फत धकेलेरै वारपार गराउन युवाहरु जुटेका छन ।
हाल यो राजमार्गमा सानाठूला गरी ३ हजारभन्दा बढी सवारी साधन र यात्रुहरु अलपत्र परेका छन ।।






प्रतिक्रिया राख्नुहोस्