सत्तारुढ दल नेकपाभित्रकै बिवादले प्रदेशसभा बैठक बस्न ढिलाइ

काठमाडौं- प्रदेश नम्बर पाँचको स्थायी राजधानी दाङको देउखुरी उपत्यकालाई तोक्ने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि प्रदेशसभामा आजदेखि हुने भनिएको छलफल अझै शुरु भएको छैन ।
विहान ११ बजेलाई तोकिएको बैठक सूचना टाँस गरी दिउँसो १ बजेलाई सारिएको थियो । तर १ बजे पनि बैठक बस्न सकेको छैन । अहिले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रस संसदीय दलको बैठक बसिरहेको छ ।
यी दलहरुको बैठक सकिएपछि प्रदेशसभाको बैठक बस्ने र बैठक आज अबेरसम्म भएपनि बस्ने सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभएको छ ।
प्रस्तावमाथिको छलफल सकिएपछि प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने र मत बिभाजन भै सर्बसम्मत हुन नसके मतदान प्रकृयामा लगिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यता प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिनुभएको छ ।
सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामापत्रमा उहाँले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आउनुभएको थियो ।
श्रेष्ठकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ प्रदेशसभा सदस्यले नोट अफ डिसेन्ट लेख्नुभएको थियो ।
उहाँले सभामुखलाई बुझाएको राजीनामा पत्रमा आकस्मिक रुपमा प्रदेशको नामकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्तावपश्चात् उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षका रुपमा उपस्थित घटनाक्रमसँग केही पत्रपत्रिकाबाट जनतामा भ्रम छर्न खोजेको महसुस भएकाले उक्त समितिबाट राजीनामा पेश गरको उल्लेख गर्नुभएको छ ।।
यसैबिच प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्तावको विरोधमा बुटवलमा आज पनि विरोध प्रदर्शन जारी छ । प्रदर्शनकारीले प्रदेशसभा भवन वाहिर अवरोध सृजना गरेको हाम्रा समाचारदाताले जनाएका छन् ।
प्रदर्शनका क्रममा हुनसक्ने हिंसात्मक घटना रोक्न स्थानिय प्रशासनले आगामी असोज २१ गतेसम्म अस्थायी राजधानी क्षेत्रमा निशेधाज्ञा जारी राखेको छ ।






प्रतिक्रिया राख्नुहोस्