बैकल्पिक व्यवसायको रुपमा कालिज पालन
दोलखा- लकडाउनले होटल व्यवसाय संकटमा परेपछि दोलखाका होटल व्यवसायीले कालिजपालन सुरु गरेका छन ।
कोभिड-१९ रोगको संक्रमण रोक्न सरकारले लकडाउन गरेसँगै होटल व्यवसाय बन्द भएपछि घाटा व्यहोरेका गौरीशंकर गाउँपालिकाका ३ युवाहरुले संयुक्त लगानीमा कालिज पालन सुरु गरेका हुन ।
दूधपोखरी वाइल्ड लाइफ एग्रो विथ रिर्सोट प्रालीमार्फत करिब डेढ करोडको लगानीमा कालिज पालन सुरु गरिएको प्रालीका अध्यक्ष छिरिङमा शेर्पाले बताउनुभयो ।
दोलखा जिल्लामा नै पहिलो पटक अर्गानिक प्रविधिबाट व्यवसायिक रुपमा रिक्नेङ प्रजातीको कालिज पालन सुरु गरिएको सञ्चालक मिङगुर शेर्पाले जानकारी दिनुभयो ।
भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थित २५ रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा २५ सय कालिज पालन सुरु गरिएको छ ।
दोलखा आएका पर्यटकलाई अर्गानिक स्वाद साथ दिई जिल्ला भित्राउने लक्ष्यका साथ व्यवसाय सुरु गरेको सञ्चालकको दावी छ ।
पालन गरेको ७ महिनादेखि बिक्री वितरण गर्न सुरु गरिने यी कालिज हाल ५ महिना पुरा भएको र अबको २ महिनामा दोलखा लगायत छिमेकी जिल्लामा निर्यात गरिने सञ्चालक शेर्पाको भनाइ छ ।
२० डिग्रीदेखि ३४ डिग्रीसम्मको तापक्रममा पाल्न सकिने कालिज पालनको लागि दोलखा उपयुक्त रहेको प्राविधिक सन्तोष सिंहले जानकारी दिनुभएको छ ।
अर्को वर्षदेखि कालिजसँगै ह्याचरीमार्फत कालिजको चल्ला बिक्री वितरण गर्ने सञ्चालकको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्