भेरीमा कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त

बाँके- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत् पुरुषको गएराति मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

यससहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० सङ्क्रमित सिकिस्त अवस्थामा छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.