सिमा नाका बन्द हुँदा लिमीमा खाद्यान्न सङ्कट

हुम्ला- कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ ।

सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै आएका व्यापारीले सात महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन् ।

व्यापारीले खाद्यान्न नपठाउँदा नाम्खा – ६ लिमीका तिल, जाङ र हल्जी गाउँमा भोकमारीको सङ्केत देखिएको छ । चीनसँग जोडिएको वडा –६ लिमी गाउँवासीले वर्षौँदेखि चीनका व्यापारीबाट खरीद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमाछ्योकी लामाले बताउनुभयो ।

वडाध्यक्ष पाल्जोर तामाङका नेतृत्वमा ११ जनाको टोली चामलको माग गर्दै लिमीबाट चार दिनको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको छ । स्थानीय बासिन्दासहित सिमकोट आइपुग्नुभएका वडाध्यक्ष तामाङले भन्नुभयो, ‘गाउँमा खाद्यान्न छैन ।

चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ ।’ वडा नं ६ लिमीसहित नाम्खा गाउँपालिकाभरिका नागरिकले चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति गर्दै आए पनि यस पटक विश्वभर फैलिएको कोरोनाका कारण सात महिनादेखि हुम्लासँगको हिल्सा र लाप्चा नाका बन्द हुँदा यस क्षेत्रमा खाद्यान्न सङ्कट भएको हो ।

वडा नं ६ लिमीका तिल, जाङ र हल्जीमा १८० परिवार बसोबास गर्दै आएका छन् । लिमी जिल्लाकै अग्लो क्षेत्रमा अवस्थित रहेकाले जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन ।

यहाँका बासिन्दाले फापर र आलु पनि उत्पादन गरे पनि बढीमा ६ महिना मात्र धान्ने गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । स्थानीय उत्पादनले नपुग्ने भएका कारण स्थानीयवासीले चीनका व्यापारीको भर पर्नुपर्ने अवस्था छ । अब हिउँ पर्ने समय शुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीयवासी छिरिङमुटुप तामाङले बताउनुभयो ।

उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा कात्तिक मध्यतिरदेखि हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गर्छ । त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै सदरमुकाम सिमकोट आइपुगेको तामाङ्गले बताउनुभयो । लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकार पक्षसँग भेटघाट गरिसकेको छ ।

सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो । सरकारले दिएको अनुदानको चामल ३० केजीको रु दुई हजार तथा ढुवानी प्रतिबोरा रु पाँच हजार पर्ने भएको छ ।

सिमकोटबाट लिमीको जाङ र हल्जी गाउँमा पुर्‍याउन प्रतिकेजी रु १७५ पर्ने भएको छ । यसबाट मूल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ ।

लिमीमा भएको खाद्य सङ्कटका बारेमा माथिल्लो निकायमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो ।

यता नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड हुम्लाले सिमकोट शाखाबाट तत्कालका लागि एक हजार क्विन्टल चामल उपलब्ध गराउने भएको कम्पनी हुम्लाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो ।

नाम्खा गाउँपालिकाका लागि आएको गत वर्षको एक हजार क्विन्टल चामल सिमकोटमा रोकिएकाले त्यो पनि पठाउने तयारी भहिरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.